लिग-२ का लागि टिम घोषणा: कुशल भुर्तेल बाहिरै
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा घोषित टिममा अधिकांश पुरानै अनुहार छन् ।
हालै एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ । हेमन्त धामी बाहिरिका छन् भने नन्दन यादवले कमब्याक गरेका छन् । यादव चोटका कारण एसीसी प्रिमियर कपमा सहभागी थिएनन् । यस्तै, टिममा स्पिनर साहब आलमलाई पनि स्थान दिइएको छ ।
स्टार ओपनर कुशल भुर्तेलले एक दिवसीय टिममा कमब्याक गर्न सकेनन् ।
नेदरल्याण्ड्समा भएको लिग २ सिरिजमा कमजोर प्रदर्शनपछि भुर्तेललाई राष्ट्रिय टीमबाट हटाएर ‘नेपाल ए’मा झारिएको थियो ।
भुर्तेलले अष्ट्रेलियामा आयोजना भएको प्रतियोगितामा टप एन्ड टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । तर हालैको एसियन गेम्समा भने उनको ब्याट चलेको थिएन ।
अनुभवि खेलाडीहरु सोमपाल कामी, आरिफ शेख र भिम सार्कीले यसपाली पनि टिममा स्थान बनाउन सकेनन् ।
लिग २ अन्तरगत नेपालका लागि निर्णायक हुनसक्ने सिरिज ७ अक्टोबरबाट ओमानमा सुरु हुँदैछ । यो सिरिजमा नेपाल, ओमान र क्यानाडाबीच त्रिकोणात्मक भिडन्छ हुनेछ ।
टोलीमा पूर्वकप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसी लगायतका अनुभवी खेलाडीहरू रहनुका साथै अर्जुन कुमाल, नन्दन यादव, शेर मल्लजस्ता खेलाडीहरूलाई पनि समेटिएको छ।
घोषित १५ सदस्यीय नेपाली टोली:
१. सन्दीप लामिछाने (कप्तान)
२. आसिफ सेख
३. दीपेन्द्र सिंह ऐरी
४. देव खनाल
५. ईशान पाण्डे
६. रोहित पौडेल
७. अर्जुन कुमाल
८. सन्दीप जोरा
९. गुलशन झा
१०. बसिर अहमद
११. करण केसी
१२. नन्दन यादव
१३. ललित राजवंशी
१४. साहब आलम
१५. शेर मल्ल