`मास्टर्नी´ले मागिन् माफी
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न विवादपछि अभिनेत्री प्रियङ्का कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी माग्दै उक्त गीत सबै प्लेटफर्मबाट हटाएका छन् ।
शिक्षण पेसा र शिक्षकहरूको मानमर्दन हुने खालका शब्द र दृश्यहरू समावेश गरिएको भन्दै चौतर्फी आलोचना र शिक्षक महासंघको विरोधपछि दुवै कलाकारले सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।
अभिनेत्री तथा चलचित्रकी निर्मात्री प्रियङ्का कार्कीले उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारप्रसारका लागि मात्र बनाइएको स्पष्ट पारेकी छिन् ।
उनी भन्छिन्, `उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित शिक्षक-शिक्षिका पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई मैले अत्यन्तै गम्भीरतापूर्वक लिएकी छु।´
आफ्नो पहिलो निर्माण प्रयासमा कसैको आस्था वा सम्मानमा ठेस पुर्याउने नियत नरहेको बताउँदै उनले अन्जानमा हुन गएको गल्तीप्रति नेपाल शिक्षक महासंघ र सम्पूर्ण गुरुवर्गसँग क्षमायाचना गरेकी छिन् ।
उनले उक्त गीत युट्युब र आफ्ना सबै सामाजिक सञ्जालबाट हटाइसकिएको जानकारी दिँदै आगामी दिनमा विषयवस्तु छनोटमा थप सचेत रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
त्यसैगरी, गायक दुर्गेश थापाले पनि गीतका शब्द र प्रस्तुतीकरणका कारण शिक्षक र दर्शकको भावनामा ठेस पुगेको स्वीकार गरेका छन् ।
उनले फेसबुकमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, `हाम्रो उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको भावनामा चोट पुर्याउने कदापि थिएन । तर, प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गर्दै मैले आफ्नो युट्युब च्यानलबाट उक्त गीत आधिकारिक रूपमा हटाइसकेको छु।´
थापाले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानका पात्र भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार र उत्कृष्ट सिर्जना लिएर आउने वाचा गरेका छन् ।