कुलमानको पार्टीमा को-को छन् केन्द्रीय सदस्य ?
२५ कात्तिक २०८२, मंगलबार, काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टीले ५१ जनाको नामसहितको विवरण बुझाएको हो ।
पूर्वऊर्जासचिव अनुप उपाध्यायलाई अघि सारिएको यो पार्टीमा चुनावको संघारमा मात्र घिसिङ सक्रिय हुने समझदारी बनेको छ ।
दल दर्ताका लागि तीन महिनाअघि नै निर्वाचन आयोगमा पेश भएको ‘उज्यालो नेपाल पार्टी’ लाई ऊर्जामन्त्री कुलमान घिसिङले स्वामित्व लिएर नाम अद्यावधिक गरिएको हो ।
यसअघि ज्ञानबहादुर तामाङ अध्यक्ष रहने गरी निवेदन पेश भएकोमा त्यसलाई संशोधन गरी उपाध्यायलाई प्रस्ताव गरिएको
उज्यालो नेपालमा सुदूरपश्चिममा स्वतन्त्र सांसद ताराप्रसाद जोशी पनि छन् । उनले नेकपा एसबाट विद्रोह गरी डडेल्धुराबाट चुनाव जितेका थिए ।
त्यस्तै देउवासँग चुनाव भिडेका सागर ढकाल, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम पनि आयोगमा बुझाइएको केन्द्रीय सदस्यको सूचीमा छन् ।
केन्द्रीय सदस्यमा यसअघि काठमाडौंको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेर राम्रो मत ल्याएकी विद्या श्रेष्ठ महर्जन, एमालेबाट काभ्रेको चौंरी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेर गठबन्धनसँग हारेका गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष जितराम लामा, सुशीला कार्की निकट अभियन्ता डा. अभिशेषकुमार सिंह, राजनीतिक अभियन्ता श्री गुरुङ, पहिचानवादी राजनीतिकर्मी डा. महेन्द्र लावती, डाकेन्द्र थेगिम, एमाले र नेकपा एसको राजनीतिमा लागेका युवा नेता डा. विशाल भण्डारीलगायत समाजका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरू रहेका छन् ।
रिमाको इन्ट्री
यो पार्टीमा अभिनेत्री रिमा विश्वकर्मा पनि जोडिएकी छन् । प्रस्तावित ५१ सदस्यीय केन्द्रीय समितिमा उनको पनि नाम छ ।

रिमा पहिलो पटक कुनै पनि राजनीतिक दलमा आबद्ध भएकी हुन् । पछिल्लो समय उनी रियालिटी शोहरुमा व्यस्त छिन् ।