IGP मा दानबहादुर कार्की नियुक्त
२४ कात्तिक २०८२ सोमबार, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (IGP) मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
२३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।
चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।
कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।
विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।
२०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् ।
उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत कार्की जेनजी आन्दोलनको बहानामा महानिरीक्षक नियुक्त नहुने भनी चर्चामा थिए । तर, सरकारले पहिलो नम्बरको उनको वरीयतामाथि न्याय गर्दै नियुक्त गर्ने निर्णय गरेको छ ।
कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
उनले इन्स्पेक्टर दर्जामा इलाका प्रहरी कार्यालय काकडभित्ता, झापा र तनहुँको आबुखैरेनीमा कार्यालय प्रमुखको जिम्मेवारी निभाएका थिए ।
डीएसपी दर्जामा इलाका प्रहरी कार्यालय, बुटवल र काठमाडौंस्थित प्रहरी वृत्त, नयाँ बानेश्वरको जिम्मेवारी बहन गरे । उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा जानुअघि प्रधान कार्यालयस्थित मानव स्रोत विकास विभागका प्रमुख थिए ।