पुरुष फुटबल टिमको प्रशिक्षकमा हरि खड्का
१४ कात्तिक २०८२ शुक्रबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डिरेक्टर हरि खड्का आफैँ नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
एन्फाले शुक्रबार खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले आसन्न एएफसी एसियन कप छनोटका खेललाई मध्यनजर गर्दै खड्कालाई नै प्रशिक्षक बनाएको हो ।
नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्दैछ ।
उक्त खेलका लागि खड्कालाई प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।
यस्तै नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
खड्का नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा महिला राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक समेत हुन् ।
पुरुष टिममा भने उनी यसअघि सहायक प्रशिक्षक थिए ।
खड्का पहिलो पटक पुरुष टिमको मुख्य प्रशिक्षक बनेका हुन् ।
एसियन कप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक आवश्यक पर्ने भएपनि एन्फाले भने एएफसी ए लाइसेन्स भएका प्रशिक्षक नियुक्त गरेको हो ।
नेपालमा अहिले प्रो लाइसेन्स प्राप्त कुनै पनि प्रशिक्षक छैनन् ।