७ गतेदेखि दुर्गा प्रसाईंको देशव्यापी आन्दोलन
१२ कात्तिक २०८२ बुधबार, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।
दुर्गाले भनेका छन्-
- यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन होइन ।
- यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, सबै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा हुनेछ।
- यो दिन (मङ्सिर ७ गते) दिल्लीमा दलहरू र विद्रोही माओवादीबिच १२ बुँदे सम्झौता भएको थियो। त्यही १२ बुँदे सहमतिका कारण देशमा राजसंस्था गयो, हिन्दु अधिराज्य गयो, र आज नेपाली नागरिक विदेश गएर देश खाली भएको तथा विदेशीहरूको इसारामा एनजीओ र आईएनजीओका सरकारहरू चलेको छ।
- यो अभियान पशुपति र माता दुर्गालाई जोगाउने तथा घर छोडेर विदेश गएका नेपाली छोराछोरीलाई घर फर्काउने अभियान हो ।
- सबै नेपाली नागरिकलाई यो व्यवस्था परिवर्तन गर्न आह्वान गर्दै मङ्सिर ७ गतेको आन्दोलनको लागि तयार रहन आग्रह गर्दछु ।
- आन्दोलनका क्रममा कसैले बन्द उल्लङ्घन गरेर दोकान खोल्छ भने तोडफोड भएमा, गाडी फुटाएमा वा आगो लगाएमा त्यसको जबाफदेही महाअभियान हुने छैन ।
- गत चैत १५ गतेको घटनामा पनि घुसपैठ भएको हो, हाम्रो अभियानको उद्देश्य कसैको घर जलाउने होइन ।
- निजामती कर्मचारी र प्रहरीलाई पनि मङ्सिर ७ गतेदेखि बिदा बस्न अनुरोध छ ।