थपिए दुई मन्त्री
९ कात्तिक २०८२ आइतबार, काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।
शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।
उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो ।
खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो ।
सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।
पहिलो निर्णय
मन्त्री डा. सुधाले पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।
भ्रष्टाचार भएको सुन्न नपरोस्
डा. सुधाले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।
मन्त्री शर्माले मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न चेतावनी दिइन् ।
खेलकुदमन्त्रीको पहिलो निर्णय
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
बब्लु अन्तरिम सरकारका जेनजी मन्त्रीसमेत हुन् ।