भारतको तीन टिमसँग T20

२४ कात्तिक २०८२ सोमबार, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले यही नोभेम्बर १३ देखि १९ सम्म भारतका तीन घरेलु टोलीसँग मैत्रीपूर्ण टी २० खेल्ने भएको छ ।

यस टुरका लागि १५ सदस्यीय नेपाली टोलीको पनि घोषणा भएको छ ।

नेपालले १३ नोभेम्बरमा राजस्थान, १४ नोभेम्बरमा उत्तराखण्ड, १५ नोभेम्बरमा बंगालको टिमसँग खेल्ने छ । त्यस्तै १७, १८ र १९ नोभेम्बरमा क्रमशः सोही टिमसँग दोस्रोपटक खेल्नेछ ।

सबै खेल देहरादुनको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुनेछ ।

घरेलु मैदानमा विश्वकप ग्लोबल छनोट

नेपालले आउँदो जनवरीमा घरेलु मैदानमै आईसीसी महिला टी२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यो भ्रमण फलदायी हुने विश्वास छ ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), कविता कुँवर, सना प्रविण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी बिष्ट, रोमा थापा, अश्मिना कर्मचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी, ममता चौधरी।

ठुलो परिवर्तन

नेपाली टोलीमा अश्मिना कर्माचार्यले लामो समयपछि पुनरागमन गरेकी छन् । उनी सन् २०२४ को फेब्रुअरीमा भएको महिला एसिया कपपछि पहिलोपटक टोलीमा परेकी हुन् ।

घरेलु क्रिकेटबाट लक्ष्मी साउद र यू १९ विश्वकप खेलेकी सीमाना केसी टोलीमा पहिलोपटक परेकी छन् ।

त्यस्तै यू १९ कै खेलाडी सना प्रवीणले पनि टोलीमा पुनरागमन गरेकी छन् ।

उनीसँगै अलिशा यादव, मनीषा उपाध्याय, सना प्रवीण, ईश्वरी विष्ट, ममता चौधरी, रोमा थापा र बिन्दु रावलले पनि पुनरागमन गरेका छन् ।

अघिल्लोपटक मलेसियासँग खेलेको टोलीबाट सीता राना मगर, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, सम्झना खड्का बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *