भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता पार्टी(सीजेपी) को प्रदर्शन चलिरहेको थियो।
नीट प्रश्नपत्र चुहावटको विषयलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन भइरहेका थिए।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले के भने ?
धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफूले प्रधानमन्त्रीलाई राजीनामा पठाएको जानकारी दिएका छन्, यद्यपि उनको राजीनामा स्वीकृत हुन बाँकी छ।
उनले एक्समा लेखेका छन्, ‘जन्तर-मन्तर र देशमा जुन परिस्थिति बनेको छ, त्यसको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका कुनै पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस्, हाम्रा बालबालिकाले आफ्नो समय पढाइमा लगाऊन् र करियर बनाउनमा केन्द्रित होऊन् भन्ने कुरालाई विचार गर्दै मैले आफ्नो राजीनामा माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु।’
उनले लेखेका छन्, ‘म विगत ४ दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारका लागि समर्पित छु। एक सशक्त, समावेशी र दूरदर्शी शिक्षा व्यवस्था नै सशक्त राष्ट्रको आधारशीला हो भन्ने मेरो सधैँ विश्वास रहिआएको छ।’
उनले भनेका छन्, ‘म देशका युवाहरूको आकाङ्क्षा, भावना र उनीहरूको न्यायोचित अपेक्षाको गहिरो सम्मान गर्छु। भारतको युवा पुस्ताको सपना साकार पार्नु हामी सबैको राजनीतिक एवं सामाजिक जीवनको नैतिक सङ्कल्प रहिआएको छ। आदरणीय प्रधानमन्त्रीज्यूको दूरदर्शी नेतृत्वमा राष्ट्रको सेवा गर्ने जुन अवसर मैले प्राप्त गरेँ, त्यसका लागि म प्रधानमन्त्रीज्यूलाई आभार प्रकट गर्दछु।’
नीट प्रश्नपत्र चुहावटको विषयमा धर्मेन्द्र प्रधानले भने, ‘पहिलो दिनदेखि नै मैले यसको जिम्मेवारी लिएँ र यो परिस्थितिबाट कहिल्यै मुख मोडिँन। कुनै पनि मेधावी विद्यार्थीको सम्भावना परीक्षा माफियाका कारण बिग्रिन नदिने र कुनै पनि विद्यार्थीमाथि अन्याय हुन नदिने मेरो सङ्कल्प थियो। तर यसबीचमा पनि धेरै विद्यार्थीहरूलाई गुमराह गर्न जिम्मेवार पदमा बसेका व्यक्तिहरूले बाधा पुर्याउने कोसिस गरे, जसले गर्दा मन अत्यन्त व्यथित भयो।’
कक्रोच जनताले पार्टीले के भन्यो ?
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले भनेका छन्, ‘हामीले गरेर देखायौँ। धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।’
अभिजित दीपकेले भने, “धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। यो यस कुराको प्रमाण हो कि यदि तपाईं डराउनुहुन्न, यदि तपाईं यो सरकारसामु झुक्नुहुन्न भने, तपाईंले जोसुकैलाई पनि राजीनामा दिन बाध्य पार्न सक्नुहुन्छ। लोकतन्त्रमा डराउनु पर्दैन।’
यसअघि कांग्रेसलगायत सम्पूर्ण विपक्षी दलहरू पनि उनको राजीनामाको मागमा अडिग थिए।
जन्तर-मन्तरको आन्दोलन
यसअघि देशका १०० प्रमुख लेखक, कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षाहरूमा पारदर्शिता, जवाफदेहिता र व्यापक सुधारको माग गरिरहेका विद्यार्थीहरूको समर्थनमा संयुक्त वक्तव्य जारी गरेका थिए।
वक्तव्यमा भनिएको थियो कि प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा लगातार बाहिर आइरहेका अनियमितताहरूले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेका छन्।
शुक्रबार दिल्लीमा कक्रोच जनता पार्टी र केन्द्र सरकारका प्रतिनिधिहरूबीच करिब २ घण्टासम्म कुराकानी भएको थियो। यसमा सीजेपीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबाट पछि नहट्ने स्पष्ट पारेको थियो।
केन्द्र सरकारको तर्फबाट वार्तामा सहभागी जेपी नड्डाले पत्रकारहरूलाई सीजेपीको मागमा छलफल गरेपछि शनिबार दिउँसो फेरि कुराकानी गर्ने बताएका थिए। शनिबार पनि सरकारसँगको तेस्रो चरणको वार्ताअघि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागलाई ‘नन-नेगोसिएबल’ बताइएको थियो।
नीट-युजी परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा कक्रोच जनता पार्टीले जुन २० देखि दिल्लीको जंतर-मन्तरमा प्रदर्शन गरिरहेको थियो। यी प्रदर्शनहरूमा लद्दाखका शिक्षाविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङचुक पनि सहभागी भई अनशन बसेका थिए। यसबीच चलचित्र, शिक्षा, कला, खेलकुद र अन्य क्षेत्रका धेरै व्यक्तिहरूले सीजेपीको आन्दोलनप्रति आफ्नो समर्थन जनाएका थिए।
सरकारमाथि राजनीतिक दबाब
केन्द्र सरकारमाथि जन्तर-मन्तरको आन्दोलनका कारण मात्र दबाब देखिएको थिएन, देशका विभिन्न भागमा शिक्षामन्त्रीको राजीनामा माग्दै युवाहरू सडकमा उत्रिएका थिए। यसबाहेक संसद्भित्र र बाहिर पनि विपक्षी दलहरूले शिक्षामन्त्रीको राजीनामालाई लिएर सरकारमाथि दबाब बनाएका थिए।
शनिबार कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटाक्ष गर्दै भनेका थिए कि उनले मेट्रो, पसल, इन्टरनेट, बाटो र खाना बन्द गरे, तर प्रश्नपत्र चुहावट बन्द गर्न सकेनन्।
जन्तर-मन्तरमा चलिरहेको प्रदर्शनको बीच राहुल गान्धीले शनिबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका थिए कि सरकारले विद्यार्थीहरूविरुद्ध क्रुर कदम चालेको छ। उनले लेखे, ‘मेट्रो बन्द गर। बाटो बन्द गर। पसलहरू बन्द गर। इन्टरनेट बन्द गर। खाना बन्द गर। आफ्नो हक मागिरहेका विद्यार्थीहरूविरुद्ध सरकारले यी क्रुर कदमहरू चाल्यो। एउटा कुरा मात्र बन्द गर्न सक्नुभएन मोदीजी- प्रश्नपत्र चुहावट।’
स्मरण रहोस्, शनिबार पनि दिल्लीमा बिहान साढे सात बजेदेखि अर्को आदेश नभएसम्मका लागि १८ वटा मेट्रो स्टेसन बन्द गरिएका थिए। यस्तै, सीजेपी र यसका समर्थकहरूले प्रदर्शनस्थल वरपर इन्टरनेट अवरुद्ध भएको दाबी गर्दै आएका थिए।
‘कक्रोच एकपटक छिरेपछि निस्किँदैन’
जन्तर-मन्तरमा अभिजित दीपकेले भने, ‘मन्त्रीको राजीनामा त भयो, तर हाम्रा थप दुईवटा माग छन्। हामी यत्तिकै जाँदैनौँ, कक्रोच (साङ्लो) एकपटक छिरेपछि निस्किँदैन। आत्महत्या गरेका बालबालिकाका परिवारले एक करोड क्षतिपूर्ति पाउनुपर्छ। प्रहरीहरूमाथि कारबाही हुनुपर्छ।’
उनले थपेका छन्, ‘दिल्ली प्रहरीका अधिकारीहरूले याद राखून्, उनीहरूले कक्रोचसँग निहुँ खोजेका छन्। हामीले त एक मन्त्रीको राजीनामा लियौँ भने तिमीहरू के कुरा हौ र। विद्यार्थीहरूमाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्छ। दाइ, यो लोकतन्त्र हो। मलाई एक महिनादेखि मानिसहरू सोध्थे- के गरिरहेका छौ, कहिलेसम्म बस्छौ, यिनले राजीनामा दिँदैनन्, यो स्वेच्छाचारी सरकार हो। तर हामीले गरेर देखायौँ।’
प्रधानको राजीनामा भएको फोन आउनेबित्तिकै दीपके खुसीले घुँडा टेकेर बसेका थिए र खुसीयाली मनाउन थालेका थिए।
भागवतको बयानको ४ घण्टापछि आयो प्रधानको राजीनामा
आरएसएस प्रमुख मोहन भागवतले शनिबार बिहान दिल्लीको एक कार्यक्रममा भनेका थिए, ‘हामी मनोमानी गर्छौं, शक्तिको भरमा सबैको मालिक बन्छौं भन्न पाइँदैन।’
भागवतले भनेका थिए, ‘आजको नयाँ पुस्ताले धेरै प्रश्नहरू सोध्छ। हामीले आदेश दिनुको साटो उनीहरूसँग कुराकानी गर्नुपर्छ। उनीहरूलाई हरेक कुराको पछाडिको तर्क बुझाउनुपर्छ, आदेश दिने होइन। संवादमार्फत नै उनीहरूलाई सही बाटो देखाउन सकिन्छ।’
भागवतको यो बयान आएको ४ घण्टापछि नै धर्मेन्द्र प्रधानले राजीनामा दिएका हुन्।
हिजो नेसनल टेस्टिङ एजेन्सीका ४७ अधिकारी बर्खास्त भएका थिए
शुक्रबार राति नीट प्रश्नपत्र चुहावट प्रकरणमा नेसनल टेस्टिङ एजेन्सी (एनटीए) का ४७ अधिकारीहरूलाई बर्खास्त गरिएको थियो। बर्खास्त गरिएका अधिकारीहरूविरुद्ध फौजदारी मुद्दा दर्ता गर्ने कुरा पनि बताइएको छ।
अधिकारीहरूका अनुसार, एनटीएमा सुधार ल्याउन छिट्टै थप कारबाही गरिनेछ। अघिल्लो दिन बिहीबार मात्रै सरकारले शिक्षा मन्त्रालयका दुई सचिवलाई हेरफेर गरेको थियो।
अधिकारीहरूका अनुसार, आउटसोर्सिङ व्यवस्थामा परिवर्तन गरिनेछ र संस्थामा प्राविधिक सुधारहरू लागू गरिनेछन् ताकि परीक्षाहरूलाई पूर्ण रूपमा सुरक्षित बनाउन सकियोस्। यसबाहेक यस्तो टेस्टिङ प्रणाली तयार गरिनेछ, जसमा प्रश्नपत्र चुहावटको कुनै गुन्जायस नहोस्।
एनटीएले ४ जना वरिष्ठ जनरल म्यानेजर र यूपीएससीको ‘प्रतिभा सेतु’ पोर्टल मार्फत १६ जना ‘योङ प्रोफेसनल्स’ नियुक्त गर्नेछ।
सोनम वाङचुकले के भने ?
अभियन्ता सोनम वाङचुकले शनिबार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको स्वागत गर्दै यसलाई ‘लोकतन्त्रको जित’ को संज्ञा दिएका छन्।
उनले कक्रोच जनता पार्टी (सीजेपी), जेनजी र देशभरका नागरिकहरूले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
‘यो लोकतन्त्रको जित हो, प्रत्यक्ष लोकतन्त्र… सीधै सडकबाट आएको। यो शान्ति, धैर्य र दृढ सङ्कल्पको जित हो,’ उनले भनेका छन् ।
वाङचुकले थपेका छन्, ‘सीजेपी र राष्ट्रका जेनजीलाई बधाई, अनि डर तथा डरको त्रासलाई त्यागेर देशको कुनाकुनाबाट जुरुक्क उठ्नुभएकामा सम्पूर्ण नागरिकहरूलाई धन्यवाद। जवाफदेहिताबाट, अब सुधारतर्फ ।’
त्यस्तै, भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले कडा प्रतिक्रिया जनाएका छन्। उनले यसलाई विद्यार्थी र युवाहरूको ठूलो जितको सङ्ज्ञा दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुपर्ने माग गरेका छन्।
‘युवाको आवाज अहंकारी सत्तासम्म पुग्यो’
‘भारतका विद्यार्थीहरूको आवाज अन्ततः अहङ्कारी सत्ताको सङ्घारसम्म पुगेको छ। यो हाम्रा करोडौँ युवाहरूको जित हो, जसले देशभर शिक्षा व्यवस्थालाई सुधार्न सडकमा आवाज उठाए,’ उनले भनेका छन् ।
उनले भनेका छन्, ‘यो सत्यको जित हो र मोदीजीको हठको हार हो। यो ती सबै परिवारहरूको जित हो जसले आफ्नो रगत, आफ्ना सन्तान गुमाए, किनकि यो सरकार भ्रष्टाचारी छ। यो साझा विपक्षीको पनि जित हो, जसले विद्यार्थीहरूको हितमा संसद्देखि सडकसम्म आवाज उठाए।’
उनले सरकारलाई थप कारबाहीको माग गर्दै अगाडि भनेका छन्, ‘अब पालो मोदीजीले हाम्रो युवा पुस्तासँग माफी माग्ने र जसले उनीहरूमाथि लाठी, डन्डा र पेलेट गन प्रहार गर्न लगाए, उनीहरूमाथि कठोर कारबाही गर्ने हो।’
कुनै बेला प्रश्नपत्र चुहावटविरुद्धकै आन्दोलनको नेतृत्वमा थिए धर्मेन्द्र
यसलाई विडम्बना नै भन्नुपर्छ, कुनै समय प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनको नेतृत्व गर्दै प्रहरीको लाठी प्रहारबाट घाइते भएका भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आज (शनिबार) फेरि अर्को प्रश्नपत्र चुहावट प्रकरणको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् ।
उता, उनको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरू पनि प्रहरीको लाठीचार्जबाटै घाइते भएका छन् ।
सन् २०२१ मा प्रकाशित ‘द न्यु इन्डियन एक्सप्रेस’को एउटा समाचार अहिले फेरि भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक ‘भाइरल’ भइरहेको छ ।
समाचारअनुसार, सन् १९९७ मा ओडिशाका तत्कालीन मुख्यमन्त्री स्वर्गीय जे.बी. पटनायकको कार्यकालमा भएको प्रश्नपत्र चुहावटको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले राज्य सचिवालयअगाडि आयोजना गरेको प्रदर्शनको नेतृत्व धर्मेन्द्र प्रधानले गरेका थिए ।
उक्त प्रदर्शनमा प्रहरीको लाठीचार्ज हुँदा उनी आफैं घाइते भएका थिए ।
घटनाको झण्डै २९ वर्षपछि, २० जुलाई २०२६ मा धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै संसद्तर्फ मार्च गरिरहेका विद्यार्थी र युवामाथि प्रहरीले लाठीचार्ज गर्यो । जसमा धेरै प्रदर्शनकारी घाइते भई अस्पताल भर्ना भए ।
त्यसबेला प्रदर्शनमा सहभागी रहेका तथा हाल भुवनेश्वरस्थित राजा मधुसूदन देव कलेजका विद्यार्थी संघका अध्यक्ष प्रशान्त राउतले बीबीसीसँग कुरा गर्दै घटनाको पुष्टि गरेका छन् ।
‘त्यतिबेला म एबीभीपीको भुवनेश्वर शाखाको अध्यक्ष थिएँ र धर्मेन्द्र प्रधान संगठनका राष्ट्रिय महासचिव थिए,’ उनले भनेका छन्, ‘जुलाई १९९७ को तेस्रो सातातिर, प्लस–टु परीक्षाको प्रश्नपत्र चुहावटविरुद्ध सयौँ कार्यकर्ता विधानसभाअगाडि प्रदर्शनमा सहभागी भएका थिए । धर्मेन्द्र प्रधानले त्यसको नेतृत्व गरेका थिए ।’
राउतका अनुसार, सन् १९८८ देखि १९९७ सम्म लगभग हरेक वर्ष प्रश्नपत्र चुहिने गरेको थियो । जसलाई उनीहरूले ‘प्रश्नपत्र चुहावटको दशक’ भन्ने गर्थे ।
उनले थप भने, ‘प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न र्यापिड एक्सन फोर्स (आरएएफ) परिचालन गर्दै अन्धाधुन्ध लाठीचार्ज गरेको थियो । त्यस क्रममा ६४ जना कार्यकर्ता घाइते भएका थिए, जसमा म र धर्मेन्द्र प्रधान पनि थियौं ।’
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा
धर्मेन्द्र प्रधानको राजनीतिक यात्रा सन् १९८० को दशकमा विद्यार्थी राजनीतिबाट सुरु भएको थियो ।
बाल्यकालदेखि नै उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) सँग आबद्ध थिए । उनी तालचेर कलेज विद्यार्थी संघका अध्यक्ष पनि बने ।
पछि उनी उत्कल विश्वविद्यालय विद्यार्थी संघको अध्यक्ष पदका लागि चुनाव लडे । तर, एसएफआईका उम्मेदवार तथा वर्तमान बिजु जनता दल (बीजेडी) का वरिष्ठ नेता अरुण साहुसँग पराजित भए । त्यो चुनावमा धर्मेन्द्र प्रधान तेस्रो स्थानमा रहे भने दोस्रो स्थानमा विद्यार्थी जनता दलका सिन्धुज्योति त्रिपाठी थिए ।
त्रिपाठीका अनुसार धर्मेन्द्र प्रधान सामान्य विद्यार्थी थिए । उम्मेदवार घोषणा हुनुअघि धेरैले उनलाई चिन्दैनथे । तर त्यतिबेला विश्वविद्यालयमा एबीभीपीको संगठन निकै बलियो भएकाले उनले राम्रो मत प्राप्त गरेका थिए ।
धर्मेन्द्र प्रधानलाई पराजित गरेका अरुण साहु पछि बिजु जनता दलका प्रमुख नेता तथा ओडिशाका उच्च शिक्षा मन्त्री बने । प्रधानको राजीनामाको मागबारे उनले बीबीसीसँग भनेका छन्, ‘हाम्रा नेता नवीन पटनायकले स्पष्ट रूपमा उहाँले राजीनामा दिनुपर्छ भन्नुभएको छ, र मेरो धारणा पनि त्यही हो ।’
प्रधानको राजनीतिक उन्नतिबारे उनले भने, ‘भाजपामा धेरै निर्णय संघकै प्रभावमा हुन्छन् । धर्मेन्द्र प्रधान लामो समयदेखि संघसँग जोडिएकाले पार्टी र सरकारमा उच्च जिम्मेवारी पाउनु स्वाभाविक थियो ।’
राष्ट्रिय राजनीतिमा उदय
विश्वविद्यालयको चुनाव हारे पनि धर्मेन्द्र प्रधानको राजनीतिक उन्नति भने निरन्तर जारी रह्यो ।
१९९४–१९९७ : एबीभीपीका राष्ट्रिय महासचिव
२००४–२००६ : भारतीय जनता युवा मोर्चाका अध्यक्ष
त्यसपछि : भाजपाका राष्ट्रिय महासचिव
उत्तर प्रदेश, बिहार, कर्नाटकलगायत राज्यमा पार्टी संगठन विस्तारमा सक्रिय भूमिका
चुनावी यात्रा
२००० : पाललहडा विधानसभा क्षेत्रबाट पहिलो पटक विधायक निर्वाचित
२००४ : देवगढ लोकसभा क्षेत्रबाट सांसद निर्वाचित
२०१२–२०१८ : बिहारबाट राज्यसभा सदस्य
२०१८–२०२४ : मध्यप्रदेशबाट राज्यसभा सदस्य
२०१४ : नरेन्द्र मोदी सरकारमा पेट्रोलियम राज्यमन्त्री
२०२४ : ओडिशाको सम्बलपुरबाट लोकसभा सांसद निर्वाचित
अमित शाहसँगको सम्बन्धबारे चर्चा
प्रधानका सहपाठी सिन्धुज्योति त्रिपाठीले केन्द्रीय गृहमन्त्री अमित शाह र जेपी नड्डासँगको निकट सम्बन्धले प्रधानको राजनीतिक उन्नतिमा भूमिका खेलेको दाबी गरेका छन् ।
उनका अनुसार, अदालतले अमित शाहविरुद्ध तडिपार आदेश जारी गरेको बेला केही दिन उनी धर्मेन्द्र प्रधानको तालचेरस्थित घरमा बसेको चर्चा विश्वसनीय स्रोतबाट सुनेको दाबी गरे । यद्यपि, उनले त्यसको प्रत्यक्ष प्रमाण भने आफूसँग नभएको बताए ।
ओडिशामा भाजपाको विस्तार
वरिष्ठ पत्रकार रुबेन बनर्जीका अनुसार ओडिशामा भाजपाको संगठन विस्तार गर्ने प्रमुख व्यक्तिमध्ये धर्मेन्द्र प्रधान अग्रणी हुन् ।
उनका अनुसार सन् २०१४ मा केन्द्रमा मन्त्री बनेपछि प्रधानले लगभग प्रत्येक सप्ताहन्त ओडिशामै बिताउँदै स्थानीय कार्यकर्तासँग भेटघाट र संगठन विस्तारमा ध्यान दिएका थिए । त्यसलाई कतिपयले मजाकमा ‘वीकेन्ड पार्टी’ समेत भन्ने गर्थे ।
प्रधानका पूर्व निजी सचिव सम्बित त्रिपाठीले पनि यसलाई पुष्टि गर्दै भनेका छन्, ‘उहाँले राज्यभरिका कार्यकर्तालाई व्यक्तिगत रूपमा चिन्नुहुन्थ्यो र केन्द्रमा रहेको आफ्नो प्रभाव प्रयोग गरेर स्थानीय समस्या समाधानमा सधैं सक्रिय रहनुहुन्थ्यो ।’
राजीनामाबारे भाजपाको प्रतिक्रिया
प्रधानका समर्थकहरूको भनाइमा उनको राजीनामाको माग ‘राजनीतिक’ हो । भाजपाका नेता सज्जन शर्माले भनेका छन्, ‘निट परीक्षालाई बहाना बनाएर विपक्षीहरूले राजनीति गरिरहेका छन् । परीक्षा सफलतापूर्वक सम्पन्न भइसकेको र विद्यार्थीहरूले सफलता मनाइरहेका बेला आन्दोलनको पछाडि राजनीतिक उद्देश्यबाहेक अर्को कारण देखिंदैन ।’
अर्का नेता गोलक महापात्रले भने, ‘निट त केवल बहाना हो । वास्तविक असन्तुष्टिको कारण नयाँ शिक्षा नीति हो । विपक्षीहरूले शिक्षामन्त्रीको राजीनामा मागिरहेका छन्, तर उनीहरूले आफ्नै शासनकाल (२०१९–२०२४) मा ओडिशामा नौ पटक प्रश्नपत्र चुहिएको तथ्य बिर्सिएका छन् ।’
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…
२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…
१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…
२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…
१ चैत आइतबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको…