नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइस–२०२५’ (नेपाल इन्डिया चाइना एक्स्पो) सोमबारदेखि सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा नाइस–२०२५ फागुन १२ देखि १४ सम्म पोखरामा चल्ने छ ।
८० अन्तर्राष्ट्रिय क्रेता, ७० विक्रेता र ७५ प्रदर्शक सहित ६ सयभन्दा बढी सहभागी हुने बोर्डले जनाएको छ । एक्स्पो पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार तथा सरोकारवालाको संयोजनमा भइरहेको हो ।
तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवसँगै नेटवर्किङ र व्यापार अवसर प्रदान गर्ने समेत बोर्डले जनाएको छ ।
नाइसले ट्राभल ट्रेड संगठनबीचको सम्पर्क, छलफल गर्न र तीन देशमा पर्यटकीय गतिविधि वृद्धि गर्न सँगै काम गर्ने प्रशस्त अवसर प्रदान गर्नुका साथै नेपाल भ्रमण गर्ने क्रेता र अन्तर्राष्ट्रिय प्रतिनिधिलाई प्रि–एक्स्पो गन्तव्य अनुभव यात्रा अवसर समेत दिएको बोर्डको भनाइ छ ।