spot_img

बिक्री हुनै छाड्यो घरजग्गा

कोभिडकै समय र त्यस लगत्तै चुलिएको घरजग्गा व्यवसायमा अहिले मन्दी छ । जग्गाका प्लटिङहरुमा सुनसान छ । किन्ने त परै जाओस् अहिले सोध्ने मान्छेसमेत आउन छाडेका व्यवसायीहरु बताउँछन् । त्यसो त पछिल्ला केही महिनायता बैंकहरुले निकै सस्तो ब्याजदरमा कर्जा दिएकाले जग्गा प्लानिङ गर्नेहरुले फाट्फुट्ट काम भने गरिरहेका छन् । यस्तै, अहिले आवासीय घर तथा अपार्टमेन्टहरुको पनि बिक्री भएको छैन । जग्गासँगै हाउजिङ, अपार्टमेन्टको कारोबार पनि ठप्पप्रायः रहेको व्यवसायीको भनाई छ ।

प्लटिङ भइरहेको छ तर त्यो बुकिङ हुन सकेको छैन । करिब २ वर्षयता घरजग्गा व्यवसायमा चरम मन्दी छ । यसरी रियल स्टेट कारोबारमा व्यापक ह्रास आउनुमा धेरै कारणहरु जोडिएका छन् । घरजग्गा व्यवसायीले केन्द्रीय बैंकको नीतिलाई दोष दिएका छन् । तर जानकारहरुका अनुसार त्यो एउटा मुख्य कारण हो तर यसबाहेक अरु पनि थुप्रै सहायक कारणहरु रहेका छन् ।

मुख्य कुरा जग्गाको भाउ निकै महँगो भएको छ । कोडिभ र त्यसलगत्तै जग्गाको भाउ निकै महँगो दरमा कारोबार भएको थियो । भाउ निकै महँगो भएका कारण आम व्यक्तिले खरिद गर्न सक्ने अवस्था नै छैन । भाउ महँगो भएकाले क्षमता भएका तथा घर बनाउन अत्यावश्यक हुनेले मात्र अलिअलि किनेको पाइन्छ । तर सामान्य व्यक्तिले किन्न सक्ने अवस्था नै छ । काठमाडौंमा डाँडाकाँडासम्म पुग्दा पनि १ करोड घटीको घर बनाएर बस्न हुने जग्गा पाउन नसकिने अवस्था भइसकेको जग्गा खोज्नेहरुको भनाई छ । यसले कारोबारमा सुस्तता ल्याएको हो ।

महँगो भएकै कारण विगतमा जस्तो बैना लगाएर त्यसबाटै नाफा खाएर बेच्ने अवस्था अहिले छैन । यसकारण जग्गा बैना गर्छु र एक–दुई महिनामै नाफा खाएर बेच्छु भन्नेहरु पनि अहिले सबै हराएका छन् । किनभने मूल्य महँगो भएकाले धेरै मार्जिन खान सकिने अवस्था छैन । त्यसमाथि पनि ग्राहक खासै नभएकाले बिक्री भएन भने फस्ने डरले यसरी बैना लगाउनेहरुले पनि आँट गर्न नसकेका यस क्षेत्रमा लागेका व्यक्तिहरुको भनाई छ ।

यसबाहेक केन्द्रीय बैंकले गरेको नीतिगत कडाईले पनि घरजग्गा व्यवसायमा मन्दी ल्याएको हो । त्यसो त जानकारहरु मुलुकको समग्र अर्थतन्त्रमै मन्दी आउनुमा घरजग्गा व्यवसायलाई एउटा मुख्य कारण मान्छन् । यो व्यवसायमा सुधार नभएसम्म अर्थतन्त्र चलायमान नहुने उनीहरुको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular