spot_img

काङ–इनले विश्वकप छनोटको खेल गुमाउने

दक्षिण कोरियाका मिडफिल्डर ली काङ–इनले चोटका कारण विश्वकप छनोटको महत्त्वपूर्ण खेल गुमाउने भएका छन्। मंगलबार जोर्डनविरुद्धको घरेलु खेलमा उनी अनुपस्थित रहनेछन्।

पेरिस सेन्ट–जर्मेन (पिएसजी) का २४ वर्षीय आक्रमणकारी मिडफिल्डर लीले बिहीबार ओमानसँगको खेलमा वुल्भ्सका ह्वाङ ही–चानलाई गोलका लागि निर्णायक पास दिएका थिए। गोयाङ स्टेडियममा भएको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो।

ली खेलको पहिलो हाफमा ‘सब्स्टिच्युट’का रूपमा मैदान प्रवेश गरेका थिए। तर, अन्तिम पाँच मिनेट बाँकी रहँदा उनी बाहिरिएका थिए। उनले आफ्नो बायाँ खुट्टाको घुँडामा चोट बोकेको बताइएको छ।

दक्षिण कोरियाका प्रशिक्षक हङ म्युंग–बोले बर्मिङहम सिटीका पैक सुङ–हो र युएई क्लब अल वासलका जङ सुङ–ह्युन पनि टोलीबाट बाहिरिएको जानकारी दिए।

‘ली काङ–इनको चोट पहिले सोचे जस्तो गम्भीर भने छैन,’ प्रशिक्षक हङले शनिबार योन्हाप समाचार एजेन्सीसँग भने,‘मैले उनसँग कुराकानी गरें र राष्ट्रिय टोलीप्रतिको उनको प्रतिबद्धता पुनः पुष्टि भयो। तर, उनी राष्ट्रिय टोलीका लागि जति महत्त्वपूर्ण छन्। उनको क्लबका लागि पनि त्यति नै महत्त्वपूर्ण छन्।’

दक्षिण कोरियाले एसियाली विश्वकप छनोटको समूह ‘बी’ मा सात खेलबाट चार जित र तीन बराबरीसहित शीर्ष स्थानमा छ। २०२६ उत्तर अमेरिकी विश्वकपमा छनोट हुने मार्गमा दक्षिण कोरिया अघि बढिरहेका छन्।

तर, ओमानविरुद्ध अन्तिम समयमा गोल खाएपछि उनीहरूको अग्रता खुम्चिएको छ। अब दक्षिण कोरिया समूहमा मात्र तीन अंकको अग्रतासहित जोर्डन र इराकभन्दा अगाडि छ।

समूहका शीर्ष दुई टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular