spot_img

१० वर्षपछि माओवादीमा फर्किए गंगा

  • २०८२ जेठ १२ सोमबार । काठमाडौं

नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् ।

उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।

२०७२ असोज ९ गते डा बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए ।

त्यतिबेला माओवादीको पोलिटव्युरो सदस्य रहेका श्रेष्ठ १० वर्षपछि पुरानै घर फर्किंदा केन्द्रीय सचिव पद पाएका छन् ।

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

महिन्द्रराय यादव आएनन्

माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो ।

तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन् ।

उनले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

माओवादी केन्द्रको सचिव

नेता गंगानारायणले केन्द्रीय सचिव पद पाएका छन् ।

२०७२ असोज ९ गते माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।

बाबुराम भट्टराईसँगै माओवादी छोडेका श्रेष्ठ अहिले नेपाल समाजवादी पार्टी (नेसपा) का नेता थिए ।

श्रेष्ठसँगै माओवादी केन्द्रमा फर्किएका अरु नेताहरुको पदीय हैसियत भने टुंग्याउन बाँकी छ ।

यो सँगै माओवादी केन्द्रमा सचिवहरूको संख्या ८ जना पुगेको छ ।

यसअघि माओवादीमा ७ जना सचिव थिए ।

दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोख्रेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य माओवादीका सचिव थिए ।

अब श्रेष्ठ पनि सचिवको सूचीमा थपिएका छन् ।

प्रचण्ड र गंगाले हस्ताक्षर गरेको ५ बुँदे निर्णयमा के छ ?

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र श्रेष्ठ नेतृत्वको नेसपाको सोमबार ललितपुरमा आयोजित पार्टी समायोजन सम्बन्धी भेलामा पाँच बुँदे निर्णय भएको छ ।

त्यसमा श्रेष्ठलाई केन्द्रीय सचिव पद दिने र बाँकीलाई सम्माजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गर्ने लगायतका बुँदाहरु उल्लेख छन् ।

प्रचण्ड र श्रेष्ठले हस्ताक्षर गरेको निर्णयमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख छ ।

पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुफको समाजवादी क्रान्तिको कार्यत्रम हुने छ ।

समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गर्ने र तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।

पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रीयताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई सञ्चालन गरिने गर्ने उल्लेख छ ।

साथै कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टीपंक्तिभित्र छलफल गर्न सकिने पनि उल्लेख छ ।

हामी पार्टी एकता गर्छौं : महिन्द्र राय यादव

महिन्द्र राय यादव नेतृत्वको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि पुरानै घर माओवादी केन्द्रमा फर्किए ।

माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो ।

तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रसँग एकता घोषणा गरे ।

यस विषयमा महिन्द्र राय यादव भन्छन्-

-गंगाजीहरुको पार्टी एकता होइन, माओवादी पार्टीमा प्रवेश हो उहाँहरुको ।

-हाम्रा साथीहरु कोही भाग्छ, हतार गर्छ भने म के भनौं, त्यो त उहाँहरुको कुरा हो, उहाँहरुले नौटंकी गर्नुभयो ।

-अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने भन्ने विधानमा उल्लेख छ ।

-विधान गंगाले आफैंले बनाएको हो, तर, उहाँले नै विधि विधान मिच्नु भएको छ ।

-अर्को कुरा हाम्रो पार्टीको नामको विषयमा अदालतमा मुद्दा चलिरहेको छ बाबुराम भट्टराईजीसँग ।

-यो अवस्थामा उहाँहरुको पार्टी प्रवेश हो ।

-अनि माओवादी केन्द्रलाई पनि कोही आउँछ भने प्रवेश गराइहालौं भन्ने लाग्यो होला ।

माओवादीमा कहिले जाने ?

-माओवादी केन्द्रले २०८० भदौ ३० गते नेसपाको नाममा एउटा पत्र पठाएको छ ।

-त्यसमा स्पष्ट रुपमा नेसपा र माओवादी केन्द्र दुई पार्टीको बीचमा एकता वार्ता चलिरहेको, साझा चुनाव चिह्न लिएको, पार्टी एकताको प्रक्रियामा छलफल भइरहेकोले नेकपा माओवादी केन्द्र पार्टीले आगामी महाधिवेशनमा माओवादी केन्द्र हटाउने छलफल गरी निर्णय गर्ने जानकारी गराइन्छ भनेर लेखिएको छ ।

-स्थायी समिति बैठकको निर्णयको आधारमा लेखिएको त्यो पत्रको आधारमा माओवादी नाम हटाएपछि एकता हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular