- २०८२ जेठ ९ शुक्रबार । काठमाडौं
फिल्म ‘ऊनको स्विटर’ २०८२ सालको पहिलो सुपरहिट फिल्म बनेको छ ।
घरेलु बक्सअफिसमा विपिन कार्की र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ ।
तेस्रो शुक्रबार (१५ दिन)को बेलुकी ५ बजेसम्म यो फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा ७ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
शुक्रबारको रात्रीकालिन शो (५ बजेपछिको) हिसाब आउन बाँकी छ ।
फिल्मले तेस्रो शनिबार पनि राम्रै कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।
तेस्रो सप्ताहन्तसम्मको कूल कलेक्सन आइतबार सार्वजनिक हुनेछ ।
तेस्रो शुक्रबार यो फिल्मले देशब्यापी ११२ शो पाएको थियो, जुन आफैमा उत्साहजनक हो ।
तेस्रो सप्ताहन्त पनि सयभन्दा धेरै शो होल्ड गर्नु आफूमा सुखद अवश्य हो ।
डेटाअनुसार, नवीन चौहान निर्देशित फिल्मको कूल कलेक्सनमा पूर्व र काठमाडौं उपत्यका टेरिटोरीको योगदान उच्च छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएका राजेश हमाल स्टारर ‘नरसिंहा अवतार’ र टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल द फाइनल रेकोनिङ’ले केही चुनौती सिर्जना गरेपनि यो लभस्टोरी फिल्मको अकुपेन्सी उत्साहप्रद देखिन्छ ।
मुलुकभर बक्सअफिसमा जोडिएका र वैधानिकरुपमा चलेका हलको संख्या १६५ रहेको चलचित्र विकास बोर्डले जनाएको छ ।
वैधानिकरुपमा चलेका हल सबैमा बक्सअफिस जडान भैसकेको बोर्डको भनाइ छ ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आउने साता रियल टाइम बक्सअफिस उद्घाटन गर्ने तयारी छ ।