- २०८२ जेठ ५ सोमबार । काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस, मूल समारोह समितिबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई हटाउन निर्देशन दिएका छन् ।
गणतन्त्र दिवस, मूल समारोह समितिको बैठकमा बालेन अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो मूल समितिको बैठक बसेको थियो ।
उक्त बैठकमा काठमाडौंका मेयर बालेन आएनन् ।
अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन् ।
आजको बैठकमा पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए ।
बैठकमा सहभागी एकले भने-
-प्रधानमन्त्रीले नामै त लिनुभएन, तर काठमाडौं महानगरका प्रमुख यसरी अनुपस्थित हुनुमा चासो राख्नुभयो ।
-उहाँ (बालेन) नआउने हो भने अबदेखि समितिमा नै नराख्नू ।
-सम्भवतः अब मूल समारोह समितिको पदेन सदस्यमा महानगरको मेयर रहने व्यवस्था हटाइनेछ ।
तीन दिन दिपावली
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
आगामी जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहितका कार्यक्रम गर्न तहगत समिति र उपसमिति गठन गरिएको छ ।
त्यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ ।
जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।