- २०८२ जेठ ४ आइतबार । काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समाजमा सेवा दिने भन्दा कथा बनाउनेहरू चर्चामा रहेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सुझाव दिँदै रिमालले यस्तो बताएका हुन् ।
प्राधिकरणको कार्यकारीमा शाक्य नियुक्त भएयता बिजुली गइरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ ।
त्यसलाई रिमालले सामाजिक सञ्जालमा न्यारेभिट निर्माणमा खटाइएका व्यवसायीले छरेको भ्रम बताएका छन् ।
रिमाल नेकपा एमालेका उपमहासचिव समेत हुन् ।
समाजलाई कामको प्रतिफल दिनेभन्दा समाजमा न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेको उनको जिकिर छ ।
उनले भनेका छन्-
-समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ ।
-अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन् ।
-यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन-किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन ।
-देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् ।
-बिजुली कसरी आयो भन्ने थाहा नपाई समाजले बिजुली ल्याइदिने देवता खडा गरेको छ ।
-तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ ।
-आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ ।
-प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ ।
-सजग रहनुहोला, बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदैछ ।
-बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो ।