- २०८२ जेठ ३ शनिबार । काठमाडौं
धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा तोडफोड तथा झडप गर्ने १० जना विद्यार्थी पक्राउ परेका छन् ।
विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ का परीक्षा दिएका परीक्षार्थीहरू आज दिउँसो वाटरल्यान्ड पार्कमा तोडफोड गरेका छन् ।
सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।
झडपको क्रममा चार सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार-
-ढुङ्गामुढा लागेर पाँचजना प्रहरी घाइते भएका छन् ।
-तोडफोडमा संलग्न रहेको आरोपमा तत्काल १० जनालाई पक्राउ गरिएको छ ।
-हामी सिसिटिभी फुटेज हेर्दैछौँ ।
-त्यसमा कसले के गरेको छ त्यस अनुसार अनुसन्धान गर्दै संलग्नलाई पक्राउ गर्छौं ।
लाखौँको क्षति
विद्यार्थीको भिडले सडकमा चल्ने दुईवटा सवारी साधनमा समेत तोडफोड गरेका छन्।
पार्कमा लाखौँको क्षति भएको छ ।
अहिले एकिन विवरण आइसकेको छैन ।
दुई डेढ महिना अघि मात्र पार्क सञ्चालनमा आएको थियो ।
अनि भयो झडप
पार्कले नुहाउनका लागि प्रतिव्यक्ति ९०० शुल्क लिने गरेको छ ।
आज कृष्ण फाउन्डेसनको सहयोगमा प्रचारप्रसारका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीको लागि जनही १०० रुपैयाँ शुल्क मात्र राखिएको थियो ।
तर नुहाउन १५०० देखि २००० विद्यार्थी पुगे ।
क्षमता भन्दा बढी व्यक्ति हुँदा उनीहरू तोडफोडमा उत्रेका हुन् ।
त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।