- २०८२ वैशाख २९ सोमबार । काठमाडौं
भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
विराटले सोमबार इन्स्टाग्राममा पोष्ट गर्दै टेष्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
क्रिकेटको लामो फर्म्याटमा विराटले १२३ खेल खेल्दै ४६.८५ को औषतमा ९ हजार २३० रन बनाएका छन् ।
विराटले भनेका छन्-
-टेष्ट क्रिकेटमा मैले पहिलो पटक ब्याग्गी ब्लु जर्सी लगाएको १४ वर्ष भइसक्यो ।
-इमानदार भएर भन्नुपर्दा, यो फर्म्याटले मलाई जहाँसम्म ल्याउँछ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ ।
-यसले मलाई परिक्षण गर्यो, आकार दियो, र जीवनभर पाठहरू सिकायो ।
-अब म यो फर्म्याटबाट टाढा हुँदैछु, यो सजिलो थिएन ।
-तर मलाई ठीक जस्तो लाग्छ ।
-मैले यो खेललाई जति दिन सक्थेँ, सबै दिएको छु, र यसले मलाई मैले सोचेभन्दा धेरै दिएको छ ।
-सधैँ मुस्कानका साथ आफ्नो टेस्ट करिअरलाई फर्केर हेर्नेछु ।
कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्टमा डेब्यु गरेका थिए ।
त्यसको तीन वर्षपछि उनी कप्तान बने।
उनले भारतका लागि ६८ वटा टेस्ट खेलमा कप्तानी गरे ।
जुन कुनै पनि भारतीय कप्तानले टेष्टमा कप्तानी गरेको धेरै हो ।
तीमध्ये केवल १७ खेल (२५ प्रतिशत) मात्र हारेका थिए ।
५८.८२ प्रतिशत जित (४० जित, ११ बराबरी) सहित कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तानका रूपमा चिनिन्छन् ।
कोहलीको कप्तानीमा भारतले सन् २०१९ मा पहिलोपटक अष्ट्रेलियामा टेस्ट शृंखला जितेको थियो ।
उनको अन्तिम टेस्ट खेल पनि अष्ट्रेलियामै (सिड्नी) यसै वर्षको सुरुमा भएको बोर्डर-गावस्कर ट्रफीअन्तर्गतको खेल थियो ।
उक्त खेल अष्ट्रेलियाले ६ विकेटले जितेको थियो ।
कोहलीले टेष्ट क्रिकेटमा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन् ।
उनले सन् २०१९ मा दक्षिण अफ्रिका विरुद्ध बनाएको अविजित २५४ रन उनको उच्च स्कोर हो ।
सन् २०२४ को टी-२० विश्वकप जितेपछि कोहलीले टी-२० बाट सन्न्यास लिएका थिए ।
रोहित शर्माले टेष्टबाट सन्न्यास लिएको केही दिनपछि नै कोहलीले पनि टेष्टबाट सन्यास घोषणा गरेका हुन् ।
अब शुभमन गिल टेष्ट कप्तानको लागि दाबेदारको रुपमा देखिएका छन् ।