- २०८२ वैशाख २६ शुक्रबार । काठमाडौं
विशेष गरी चिकित्सासहित स्वास्थ्य विज्ञानका विविध विषयको अध्ययनका लागि नेपाली विद्यार्थी पाकिस्तान जाने गरेका छन् ।
तर, त्यहाँ कति नेपाली विद्यार्थी छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन ।
वैदेशिक अध्ययनका लागि विभिन्न देश जानुअघि नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिने कुरा अनिवार्य गरेको छ ।
तर, भारत, पाकिस्तानलगायतका कतिपय देशमा विद्यार्थीहरु अनौपचारिक तवरले अध्ययन गर्न जाँदा एनओसी लिने गर्दैनन् ।
त्यसैले सरकारसँग यकिन तथ्यांक नभएको मन्त्रालयका पदाधिकारी बताउँछन् ।
भारत–पाकिस्तान तनाव बढेपछि परराष्ट्र मन्त्तालयले एडभाइजरी जारी गर्दै पाकिस्तानमा अध्ययनरत विद्यार्थीलाई सम्पर्क गर्ने काम गरिरहेको बताए पनि शिक्षा मन्त्रालयसँग भने यकिन तथ्यांक छैन ।
शिक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न २४ शिक्षण संस्थाका लागि नेपाली विद्यार्थीलाई एनओसी जारी गरेको सरकारको वेभसाइटमा देखिन्छ ।
तर, दूतावासले छात्रावृत्ति दिएका, आफन्त र साथीभाइको सम्पर्कका आधारमा गएर पढेका विद्यार्थीको तथ्यांक सरकारसँग हुँदैन ।
एनओसी जारी गरिएका विद्यार्थीको हकमा उनीहरुले अध्ययन गर्ने शिक्षण संस्थाको ठेगाना, व्यक्तिगत तथा संस्थागत इमेललगायतका विवरण हुने कारण पहिचान गर्न सहज हुन्छ ।
तर, अनौपचारिक तवरले जानेको हकमा केही भन्न नसकिने शिक्षा मन्त्रालयका पदाधिकारी बताउँछन् ।
विद्यार्थीलाई यस्तो एड्भाइजरी
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ ।
भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले एड्भाइजरी जारी गरेको हो ।
मन्त्रालयले हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।
पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सबै विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ ।