- २०८२ वैशाख २६ शुक्रबार । काठमाडौं
भारत सरकारले त्यहाँको समाचार पोर्टल ‘the wire’माथि प्रतिबन्ध लगाएको छ ।
भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर सरकारले प्रतिबन्ध लगाएको हो ।
यो अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिमाथि आलोचनात्मक सामग्रीहरू प्रस्तुत गर्दै आएको थियो ।
द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार, कम्तिमा दुई वटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ ।
सिद्धार्थ वरदराजनले भने-
-यो प्रतिबन्ध पूर्ण लागू नहुञ्जेल केही पाठकहरूले अझै पनि वायर पढ्न पाउनु हुन्छ होला, तर भीपीएनमार्फत वायर पढ्न सकिन्छ ।
-त्यसैले मोदीको महान पर्खालको बाहिर पनि जीवन छ र विदेशमा रहेका पाठकहरूले पनि हामीलाई पढ्न सक्छन्, तर हामी छिट्टै एउटा मिरर साइट सुरु गर्नेछौं ।
-सरकारको यो कदम संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन हो ।
-हामी अत्यन्त संवेदनशील समयमा भएको यो प्रतिबन्धतको विरोध गर्छौं, जतिबेला विवेकपूर्ण, सत्यनिष्ठ, निष्पक्ष र तर्कसंगत आवाज तथा समाचार स्रोतहरू आवश्यक छ ।
-यो कमदविरुद्ध हामीले आवश्यक कदम पनि चालिरहेका छौं ।
-सत्य र यथार्थ समाचार सम्प्रेषण गर्न हामी पछि हट्दैनौं ।
भारतीय अखबार द हिन्दुका पूर्वसम्पादक सिद्धार्थसहितको समूहले सन् २०१५ मा वायरको स्थापना गरेको थियो ।
भारतमा सरकारबाट स्वतन्त्र रहेका सीमित समाचार संस्थाहरूमध्ये गनिने वायरविरुद्ध विभिन्न व्यवसायी, राजनीतिज्ञ लगायतले मानहानीका थुप्रै मुद्दा दायर गरेका छन् ।
केही महिनाअघि ‘द काराभान’ म्यागजिनले कश्मिरमा भारतीय सेनाबारे रिपोर्टिंग छापेका बेला पनि सञ्चार मन्त्रालयले अनलाइनबाट हटाउन निर्देशन दिएको थियो ।
‘द काराभान’ म्यागजिन पनि भारतमा सत्तालाई प्रश्न गर्ने सीमित सञ्चारमाध्यममध्ये पर्छ ।