- २०८२ वैशाख २४ बुधबार । काठमाडौं
पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ ।
पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो ।
यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।
भारतले भनेको छ–
-यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ ।
-जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।
-मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको छ ।
पहलगाम घटनापछि तनाव
भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ ।
सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।
सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री भन्छन्-
भारतले नौ स्थानमा आक्रमण गरेको भनिए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्रीले भनेका छन्-
-भारतले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्वक आक्रमण गरेको छ ।
-पाकिस्तानलाई यस युद्धकार्यको कडा जवाफ दिने पूरा अधिकार छ र जवाफ दिइँदैछ ।
-पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका छन् ।
-देशको मनोबल उच्च छ ।
-पाकिस्तानलाई थाहा छ कसरी दुश्मनसँग व्यवहार गर्नुपर्छ ।
-हामी कहिल्यै पनि शत्रुलाई उसको उद्देश्यमा सफल हुन दिनेछैनौं ।
कश्मीर क्षेत्र अशान्त
मिसाइल हमलापछि कश्मीर क्षेत्र अशान्त बनेको छ ।
महिला र बालबालिका प्रभावित भएका छन् ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भनेका छन्–
-भारतले सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण गरेको छ ।
-भारतको आक्रमणबाट एक महिला र एक बच्चा समेत मारिएका छन् ।
-अन्तर्राष्ट्रिय मिडियाहरुलाई घटनास्थलमा आएर हेर्न अनुरोध गर्दछु ।
प्रत्यक्षदर्शी
मूजफ्फराबादका बासिन्दा शहनवाजले भनेका छन्-
-हामी आफ्ना घरहरूमा गहिरो निद्रामा थियौं ।
-अचानक विस्फोटका आवाजले हामीलाई झस्कायो ।
-अहिले हामी परिवार, महिला र बालबालिकासहित बाहिर छौं र सुरक्षित स्थानहरूको खोजीमा छौं ।
-शहरमा त्रासको वातावरण छ ।
मूजफ्फराबादमा बिलाल मस्जिद नजिकै आक्रमण भएको स्थानका बासिन्दा मोहम्मद वहिद भन्छन्-
-गहिरो निद्रामा रहेका बेला पहिलो विस्फोटले घर नै हल्लियो ।
-म तुरुन्त बाहिर दौडिएँ ।
-अरू पनि बाहिर निस्किएको देखेँ ।
-हामीले के भइरहेको छ भन्ने बुझ्न नपाउँदै थप तीनवटा मिसाइल खसे ।
-सिंगो क्षेत्रमा आतंक फैलिएको छ ।
-दर्जनौं महिला र पुरुष घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपतिले भने ‘लाजमर्दो’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’ भनेर टिप्पणी गरेका छन् ।
ट्रम्पले भने-
-केवल यति भन्छु, यो लाजमर्दो छ ।
-यस्तो (लडाइँ) चाँडै सकियोस् ।
संयमित हुन आह्वान
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।
उनले भनेका छन्-
-दुवै देशलाई बढीभन्दा बढी संयम अपनाउन आह्वान गर्दछु ।
-संसारले अर्को (भारत–पाकिस्तान) सैन्य टकरावको जोखिम उठाउन सक्दैन ।
तीन भारतीयको मृत्यु
पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
निगरानी गरिरहेका छौं : अमेरिका
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्-
-हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौं।
-म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु।
-म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत् शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।
हमला खेदजनक : चीन
चीनले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ।
उसले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेको छ ।
विद्यालय बन्द, परीक्षा स्थगित
पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् ।
पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी छन् ।
अलजजिराका अनुसार शरीफले विश्वविद्यालय र कलेजहरूमा हुने परीक्षा पनि स्थगित गरिने बताएकी छन् ।
तर अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने छन् ।
ट्राभल एडभाइजरी, कैयौं उडान रद्द
भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि विभिन्न भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् ।
यसका कारण धेरै उडान रद्द भएका छन् र केही प्रभावित भएका छन् ।
एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले यात्रुहरूलाई सतर्क रहन आग्रह गर्दै सूचित गरेका छन् ।
उनीहरूले उत्तर भारतका केही क्षेत्रमा हवाई यातायातमा अस्थायी अवरोध आएको जानकारी दिएका छन् ।
एयर इन्डियाले भनेको छ-
-वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जाने–आउने सबै उडानहरू रद्द गरेको छ।
-साथै, अमृतसरका लागि तय दुई अन्तर्राष्ट्रिय उडानलाई दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।
स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरलगायत उत्तर भारतका केही विमानस्थलहरू अर्को सूचनासम्म बन्द गरिएको जनाएको छ ।
त्यस्तै इन्डिगोले पनि श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़ र धर्मशालातर्फका उडानहरू प्रभावित भएको जानकारी दिएको छ ।
तीनवटै एयरलाइन्सले यात्रुहरूलाई फ्लाइटको अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल पुग्न अनुरोध गरेका छन् ।
५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी
पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ।
पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफ चौधरीले भने
अहिलेसम्म, पाँच भारतीय विमान हामीले खसालेका छौं ।
जसमा तीन राफेल, एक एसयू-३०, एक मिग-२९ र एक हेरोन ड्रोन खसालिएको छ ।
अहिलेसम्म बोलेन सार्क अध्यक्ष नेपाल
दक्षिण एसियाका दुई आणविक शक्ति भारत र पाकिस्तानबीच सैन्य कारबाही चलिरहेका बेला सार्क अध्यक्ष समेत रहेको नेपालले कुनै प्रतिक्रिया दिएको छैन ।
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आतंकी ठेगानमाथि गरेको भनेर थालेको सैन्य कारबाही र त्यसको प्रतिवादमा पाकिस्तानले थालेको हमलाबारे सार्क अध्यक्ष नेपाल बोलेको छैन ।