spot_img

प्रदीप नेपालको इच्छापत्र- झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू

  • २०८२ वैशाख २३ मंगलबार । काठमाडौं

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल अस्पताल लगिएको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए ।

नेता नेपालको अति सघन कक्षा (सिसियु) मा उपचार भएको थियो ।

झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू

प्रदीप नेपालको सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।

एमाले नेता समेत रहेका भाइ समिर नेपालका अनुसार स्वर्गीय दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो ।

पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ ।

एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।

आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदीप नेपालको हकमा तोडिने भएको छ ।

परिवारका सदस्य पनि यसको विपक्षमा रहेको बुझिएको छ ।

पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।

को हुन् प्रदिप नेपाल ?

विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् ।

२०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

नेकपा (माले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए ।

उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

उनले पार्टी कामकै सिलसिलामा इलाममा जिम्मेवारी सम्हाल्दा त्यहीँकी झुमा देवानसँग वैवाहिक जीवन शुरु गरेका हुन् ।

साहित्य तर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए ।

माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो ।

यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन् ।

कवि मन्जुल (मेघराज नेपाल) उनका सहोदर दाइ हुन् ।

उनी माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन् ।

एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरे ।

२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि काम गरे ।

नेपालमा पहिलोपटक सरकारी लगानीमा कालिगण्डकी जलविद्युत परियोजनाको थालनी उनको कार्यकालमा भएको हो ।

हेटौंडाको अचम्मको ठाउँसम्बन्धी यो भिडियो हेर्न नछुटाउनु है

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular