- २०८२ वैशाख २३ मंगलबार । सुर्खेत
सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ ।
गुर्भाकोट नगरपालिका-५ की २६ वर्षीय प्रेमा आइतबार भेरीगंगा नगरपालिका-१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् ।
प्रेमालाई उनकै श्रीमानले हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रेमाका श्रीमान २९ वर्षीय दर्शन खत्री हुन् ।
खोलामा शव
भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान उनको शव फेला परेको थियो ।
रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।
घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन् ।
आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकल टिप्न गएका स्थानीयले शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए ।
आइतबार बेलुका नै हत्या आशङ्कामा श्रीमान् दर्शन खत्रीलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीको टोली पक्राउ गर्न घरमै पुगेपछि निकै हतोत्साहित बनेका दर्शनले सुरुमा इन्कारी बयान दिएका थिए ।
विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस्तो छ घटना
गुर्भाकोट नगरपालिका–५, का दर्शन र वडानम्बर ६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भएको थियो ।
विवाहको दुई वर्षपछि छोरी जन्मिइन् ।
लगत्तै दर्शनले नेपाली सेनामा नाम निकाले (हाल उनी काभ्रेको वीरदल गणमा कार्यरत छन्) ।
दर्शनले अन्य महिलासँग हिमचिम बढाउन थाले ।
उक्त कुरा घरपरिवार हुँदै प्रेमाले माइतीसम्म पुर्याइन् ।
सोही घटनाबाट श्रीमान्–श्रीमतीबिच अविश्वास बढ्न थाल्यो ।
दर्शनले गल्ती नदोहोर्याउने भन्दै माफी मागेपछि प्रेमाले माफी पनि दिइन् ।
तर दर्शनले अन्य महिलासँग सम्बन्ध बनाउने काम छाडेनन् ।
त्यो कुरा पनि प्रेमाले थाहा पाउन थालिछन् ।
त्यसले नै शंका र अविश्वासको बढ्दै गएको पाइन्छ ।
श्रीमान् अन्य महिलासँग सम्बन्ध बढाएको थाह पाएरै प्रेमाले उनीमाथि प्रश्न उठाउन थालिन् ।
त्यही विषयमा पाँच वर्षदेखि बुढाबुढीबीच बेलाबेला झैझगडा र कुटपिट हुने भइरहेको थियो ।
प्रेमा छोरीसहित माइतीघर बस्दै आएकी थिइन् ।
दर्शन बिदा लिएर शनिबार साँझ मात्रै छिन्चु पुगेका थिए ।
मलाइ छिन्चु बजारसम्म लिन आउ भनेर दर्शनले प्रेमालाई बोलाए ।
प्रेमाले छोरीलाई घरमा छोडेर गइन् ।
दर्शनले साथीसँग सामान पठाउनुभएको छ रे सामान लिन छिन्चु जान्छु भनेर प्रेमाले माइतीलाई जानकारी गराइन् ।
प्रेमा श्रीमानलाई लिन भनेर छिन्चु बजार पुगिन् ।
श्रीमान-श्रीमतीको भेट भयो ।
सुरुमा दुईबीच राम्रै कुरा भए ।
बिस्तारै झगडा हुन थाल्यो ।
झगडा गर्दै उनीहरू अगाडि जङ्गलतिर पुग्छन् ।
त्यहाँ पुगेपछि एक-अर्काको मोबाइल हेर्न थाल्छन् ।
झिंगेनारा जङ्गलमा शनिबार बेलुकी ७ बजेसम्म उनीहरूबीच झगडा भइरह्यो ।
त्यसपछि दर्शनले रिसको झोकमा प्रेमाको टाउकोमा ढुङ्गा हान्छन् ।
ढुङ्गाले टाउकोमा लागेपछि प्रेमा ढलिन् ।
दर्शनले प्रेमाकै सलले घाँटीमा कस्छन् ।
प्रेमाको मृत्यु भएपछि पानीको खाल्डोमा शव फल्छन् ।
शंका र झगडा
दुवै जनाले एक अर्कामाथि गर्ने शंकाले नै शनिबारको घटना हुन पुगेको प्रहरी बताउँछ ।
प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लाग्छ भनिरहने र श्रीमानले पनि प्रेमामाथि शंका गर्ने गर्दथे ।
शंका र झगडाले गर्दा प्रेमाले ज्यान गुमाउनुपर्यो ।
दर्शन शनिबार राति ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गए ।
प्रेमाको हत्या आफू एक्लैले गरेको र आशङ्का नै मुख्य कारण भएको प्रहरीलाई बयान दिएका छन् ।
प्रेमासँग विवाह भएको सुरुका केही वर्ष सम्बन्ध राम्रो थियो ।
पछि शंका उपशंकाले गर्दा पाँच वर्षदेखि सम्बन्धमा खटपट हुँदै आएको थियो ।
भदौमा विवाद
गत भदौमा दर्शन बिदामा घर आएका थिए ।
त्यो बेला स्थानीय एक महिलासँग दर्शनले कुरा गर्ने गरेको थाहा पाएकी थिइन् ।
त्यो विवाद माइतीसम्म पुगेको थियो ।
त्यो बेला माइती पक्षले सम्झाएर घटना मत्थर पारेका थिए ।
दर्शनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रेमाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।
हेटौंडाको अचम्मको ठाउँसम्बन्धी यो भिडियो हेर्न नछुटाउनु है