- २०८२ वैशाख २२ सोमबार । काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको स्तरोन्नतिका विषयमा बनाउने काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका छन् ।
ओलीले काम सम्पन्न गर्न थप दुई महिना समय दिएका छन् ।
प्यारापिट र फ्लडलाइट जडान कार्य असारको अन्तिमसम्ममा सम्पन्न गर्न ओलीले निर्देशन दिएका छन् ।
ओलीको खास घोषणा
ओली मन्त्रीपरिषदको पहिलो वैठकले कीर्तिपुर मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र टियु क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान गर्ने घोषणा गरेका थिए ।
पर्सि २४ गते वुधबार ३०० दिन पुग्दैछ ।
सो अवधिभित्र काम नसकिने भएपछि ओलीले स्पष्टीकरण मागेका हुन् ।
प्यारापिट र फ्लडलाइट जडान कार्यमा भइरहेको ढिलाइ प्रति चासो व्यक्त गर्दै ओलीले सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई बोलाएर छलफल गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल भएको थियो ।
छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित सम्लग्न निर्माण व्यवसायी सहभागी थिए ।
ढिलाइ किन ?
मन्त्रालय सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीले सम्बन्धित निकायबीचको समन्वयमा समय लागेकाले समयमा बोलपत्र आह्वान हुन नसकेको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन भएको, केही दिन वर्षाले काम अवरोध भएको जस्ता कारण देखाएका थिए ।
यस्तै, एलसी खोल्ने प्रक्रियामा ढिलाइ भएको जस्ता कारणले सम्झौतामा तोकिएको अवधिमा काम हुन नसकेको स्वीकारेका थिए ।
निर्माण व्यवसायीले अबको एक महिनाका काम सक्ने प्रतिबद्धता जनाएका छन् ।
निर्माण प्रगति
प्यारापिटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत प्रगति भएको छ ।
फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको छ ।
प्यारापिटका लागि ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई रुपैयाँमा सम्झौता गरिएको थियो ।
फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ रुपैयाँमा सम्झौता गरिएको थियो ।
यस्तो बन्दैछ टियु ग्राउन्ड : ड्रोन भिडियो हेर्नुहोस्
हेटौंडाको अचम्मको (रहस्यमय) ठाउँसम्बन्धी यो भिडियो नछुटाउनु है