spot_img

हिरोइनले दिएको ‘गुड लुकिङ’ ट्यागले हृदयेन्द्र शाहको बढेको भाउ

  • राजेश मिश्र

गणतन्त्र लयमा चल्दै थियो। आम नागरिक र विस्थापित राजपरिवारका सदस्यहरूबीच कोरिएको विभेदको परम्परागत रेखा धमिलिँदै थियो। ज्ञानेन्द्र शाहका आफ्नै परिवारका सदस्यहरूको यसमा सक्रिय सहभागिताको अभिलेख अखबारका पानाहरूमा सुरक्षित छन्।

नेपाल संघीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको दुई वर्ष सात महिना मात्रै भएको थियो। डिसेम्बरको एउटा चिसो रात चितवन जंगलको एक पाँचतारे रिसोर्टमा अपदस्थ युवराज पारस शाहले पेस्तोल पड्काएर आतंक मच्चाए। पारसको निसानामा थिए, बंगलादेशी व्यापारीका छोरा रुबेल चौधरी। चौधरीको थप परिचय हो, माओवादीलाई ‘संसदीय पिँजडामा कैद गर्ने’ अभियानका नायक गिरिजाप्रसाद कोइरालाकी सुपुत्री, नेपाली कांग्रेसकी नेतृ तथा त्यसबेलाकी उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाइँ।

पारस शाहले जीवनमा पहिलोपटक हातहतियार मुद्दाको सामना गर्नुपर्‍यो। प्रशासनलाई बयान दिनुपर्‍यो। यसअघि ड्युटीमा बसेको प्रहरीलाई गाडीबाटै मुक्का हान्दा होस् वा नसाको सुरमा लोकगायक प्रवीण गुरुङलाई किचेर मार्दा होस्, व्यवस्थाले उनको रौँ पनि हल्लाउन सकेको थिएन। अब जमाना ‘चेन्ज’ हुँदै थियो। पुराना राजाहरू कानुनको दायरामा आउन थालेका थिए। नयाँ शासकहरू श्रीपेच नलाएका राजाको शैलीमा उन्मुक्तिको आनन्द लिने प्रथा बसाल्दै थिए।

रुबेल चौधरी लामो समयदेखि ससुराली देशमा थिए। अहिलेझैँ हातैबाट भिडिओ कल गर्ने प्रविधि थिएन। दूरसञ्चार संस्थानलाई छलेर ‘कल बाइपास’ मार्फत अवैध आर्जन गर्ने गिरोह नेपालमा सक्रिय थियो। रुबेल चौधरीले यो धन्धामा महारथ हासिल गरेका थिए।

पारस शाहको काण्डपछि रुबेलको धन्धा पनि सतहमा आयो। स्वाभाविक रूपले यसबारेमा कुनै छानबिन भएन। सासूको ‘राजनीति बिग्रने’ डरले ज्वाइँलाई रातारात सिमाना कटाइयो।

राज्यले इन्साफ गर्न रुचाएको अवस्थामा रुबेल चौधरीलाई दस वर्ष कैद र दस लाख जरिवाना हुने थियो। पारस शाहको हकमा दुई वर्ष कैद र दस हजार जरिवाना निश्चित थियो। तर यी दुवैमाथि कारबाही भएन। नयाँ नेपाल तदर्थवादी सत्ताधीशहरूबाट शासित हुने अभ्यासक्रममा थियो, जो अझै जारी छ।

एघार वर्षपछि गर्मीको एउटा साँझ पारस शाह र एउटा ट्राफिक पुलिस हवल्दारबीच अर्को गलफत्ती भयो। पारस हेलेमेट नलाई आफ्नो बाबुका पालामा भन्सार नतिरी ल्याएको अमेरिकी हार्ले डेविड्सन मोटरसाइकल चलाउँदा प्रहरीको फन्दामा परे। हवल्दारले उनको हात च्याप्प समातेर भने, ‘जाऊँ थानामा।’ पारस भन्न थाले, ‘जान्नँ जान्नँ। के गर्छस्?’ भीड जम्मा हुनथालेसँगै हवल्दारलाई हाकिमको आदेश आयो, ‘छोडिदे!’

यो प्रकरण केही समय सामाजिक सञ्जालमा छायो र बिलायो। पारसमाथि कारबाही भएन। जनताको सरकार विस्थापित राजाको शक्तिका सामु झुक्यो। तर भर्खरै सामाजिक सञ्जालमा एउटा ट्राफिक प्रहरीले एक नागरिकलाई अचेत हुनेगरी टाउकोमा लात्ता बजाएको फुटेज छ्याल्लब्याल्ल भयो। नेपालको सुशासन अझै तदर्थवादकै छायामुनि सुस्ताएको छ।

निलो ‘ट्रयाकसुट’ पहिरिएका विस्थापित राजा ज्ञानेन्द्र शाह महाराजगञ्ज निर्मल निवास अघिल्तिर बिनासुरक्षा एक सर्वसाधारणसँग भलाकुसारी गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा आयो। यो तस्बिर अर्थपूर्ण छ। बितेका अठार वर्ष पालैपालो गणतान्त्रिक सरकार हाँकेका ओली, देउवा र दाहालसँग बिना अङ्गरक्षक भोटाहिटीबाट छिरेर इन्द्रचोकमा निक्लिने औकात छैन। तर पुराना राजाहरू दृश्य रूपले खुकुलो हुँदैछन्। गणतन्त्रवादीहरू राजसी ठाँटमा कस्सिएर आफ्नो वर्ग परिवर्तन गर्दैछन्।

यिनै प्रकरणका बीच यतिबेला अभिनेत्री सुरक्षा पन्त चर्चामा छिन्। नेपालमा पञ्चायतकालदेखि नै सिनेमा र खेलकुद क्षेत्रमा दरबारिया चाटुकारहरूको बहुमत रहेको हो। बाढीको भेलमा माओवादी भएका निर्माता/अभिनेता अशोक शर्मा हुन् वा दरबारिया चोला त्यागेर कांग्रेसी बनेका नीर शाह, मौकामा चौका हान्न चुकेपछि सबैको अन्तिम शरणस्थली भनेको श्री ५ को निगाह नै हो।

सुरक्षा पन्तले पञ्चायतकाल देख्न भोग्न पाइनन्। अहिलेको कथित विवादमा उनको राजनीतिक आस्था पनि महत्त्वपूर्ण छैन। उनले भनेकी केवल यत्ति हो, ‘हृदयेन्द्र राम्रा छन्, नेपाली फिल्ममा आए राम्रो हुन्थ्यो।’

के भयो यसमा त्यस्तो अनुचित? रवीन्द्र मिश्र एक राजनीतिक उद्यमी हुन्। उनले हृदयेन्द्रलाई राजनीतिमा उतार्ने कुरा स्वाभाविक हुने तर एक अभिनेत्रीले उनै हृदयेन्द्रलाई सिनेमाको संसारमा स्वागत गर्दा अपराध कसरी हुन्छ?

नेपाली सिने उद्योगमा साक्षर र सचेत प्रतिभाको खडेरी थियो, अझै छ।

निलो स्यालका छाउराछाउरीहरू सामाजिक सञ्जालमा जसरी र जस्तो असभ्य लज्जास्पद रूपले प्रकट हुन्छन्, विस्थापित राजाका हिमायतीहरूको ‘अभिव्यक्ति स्वतन्त्रता’ को स्तर पनि त्यो भन्दा पृथक देखिएन। सुरक्षा पन्तको प्रतिरक्षामा केवल एकजना अभिनेत्री प्रखर रूपमा अगाडि आइन्– ऋचा शर्मा। सिने उद्योगमा सुरक्षाका साथीहरू त अरु पनि थिए! उनीहरूको धारणा के हो? वा उनीहरू ‘खुच्चिङ’ भन्दैछन्?

सुरक्षाले सिने उद्योगमा स्वागत गरेको पूर्वनवयुवराज हृदयेन्द्रकी आमा हिमानी, दिदीहरू पूर्णिका र कृतिकाहरू टिकटकमा नाचेको क्लिप भाइरल हुन्छ। मिस पवीदेखि शर्मिला वाइबाहरू पनि यसैगरी उदाएका हुन्। हृदयेन्द्रलाई सुरक्षाले ‘गुड लुकिङ’ भनिदिएको कारण आफ्नो परिवारभित्र कान्छा सरकारको भाउ बढेको हुनुपर्छ। तर राजावादीहरूलाई यसले टाउको दुखाएको छ। उनीहरूको अश्लील मनोविज्ञानले सामाजिक सञ्जाल प्रदूषित छ। किन?

सुरक्षा पन्त, जो पढाइको कुरा गर्दा एक इन्जिनियर पनि हुन्, आफ्नो मनको कुरा बोल्न तयार भइन्। के यो अपराध हो?

राजाले सुम्पेको रित्तो नासो

ज्ञानेन्द्र शाह इतिहासमा सधैँ छोटो दूरीको लंगडो घोडाका रूपमा चित्रित हुनेछन्। पहिलोपटक उनलाई राणा शासनका अन्तिम प्रधानमन्त्री श्री ३ मोहन शमशेरले कुदाए। दोस्रोपटक उनी आफै कुदेका हुन्। इतिहासले असफल साबित गरिसकेको सइसहरूले खनिदिएको बाटोमा बुर्कुसी मार्दा उनी आफै थला परे। यो घटनालाई दरबारिया भाषाले अलंकृत गरेर ‘मौसुफले असीम कृपा बक्स हुँदै जनताको नासो जनतालाई नै सुम्पिबक्सियो’ भन्न पनि सकिन्छ। तर सूचना प्रविधिको सागरमा डुबुल्की मार्न रुचाउने अहिलेको पुस्ताको यस्ता सम्भ्रान्त लबजमा कुनै रुचि छैन।

एउटा जमाना थियो, दरबारियाहरूको स्वामित्वमा रहेको होटल अन्नपूर्णका एक कर्मचारीले दरबारबाट आएको एउटा फोनको उत्तरमा ‘हुकुम सरकार’ नभनेर ‘मर्जी होस्’ भन्दा उसको जागिर दुई मिनेटमा चट् भएको थियो। अहिलेको पुस्ता ‘च्याट’ गर्दा ‘पछि कुरा गरौँला’ भन्नुको सट्टा ‘टीटीवाईएल’ भन्न थालेको छ।

माघ १९ को सैनिक कू अघि सायद ज्ञानेन्द्र शाहलाई समेत यसको भेउ थिएन। अन्यथा उनी तुलसी गिरि प्रभृतिको भर पर्ने थिएनन्। अपदस्थ राजा पारिवारिक जमघटमा आम नागरिक झैँ दामी रेस्टुराँ जाँदा उनको युवा पुस्तासँग हिमचिम भएको हुनुपर्छ। तर उनले मान्छे चिन्न जानेका छैनन् भन्ने कुरा नवराज सुवेदी, दुर्गा प्रसाईं र जगमान गुरुङहरूको चयनबाट प्रमाणित भएको छ।

जसरी ज्ञानेन्द्र शाहले मान्छे चिन्न सकेनन्, उनीपछि श्री ३ का रूपमा उदाएका गणतन्त्रवादी दलका नेताहरूले समय चिन्न सकेका छैनन्। राजावादीहरूमा थोरै मात्रै भए पनि समयको पदचाप सुन्ने क्षमता हुँदो हो त उनीहरूले चैत १५ को तीनकुने विध्वंस गर्ने थिएनन्। के हतारो थियो र? ज्ञानेन्द्र शाह पोखराबाट राजधानी उपत्यका आउँदाको स्वागत जुलुसकै भरमा एउटा पिपलपाते बैंक ठगलाई नायकत्व दिएर अराजकता मच्चाउनु जरुरी थियो?

राजतन्त्रवादीका निम्ति गणतन्त्रवादीहरूले आकाश खोलिदिएकै थिए! ज्ञानेन्द्र शाहको अधैर्यले भुइँको टिप्न खोज्दा पोल्टाको झरेको हो। अब निकट भविष्यमा विस्थापित राजाको पक्षमा उफान उठ्न सम्भव छैन। शाहवंशी राजाहरूलाई हरेक कुरा तात्तातो चाहिन्छ। अब त्यो सेलायो सरकार!

तीन भिन्न राजनीतिक दलका नायकका रूपमा उदाएका एकै गिरोहका सदस्यहरू ओली, देउवा र दाहाललाई सत्तोसराप गर्ने राजावादीहरूले राजनीति बुझेका छैनन्। श्री ५ का गुमस्ताहरूले नयाँ श्री ३ हरूको सार्वजनिक अभिनन्दन गर्नु जरुरी थियो। नयाँ श्री ३ हरू मतिच्यूत भएकै कारण श्री ५ को महत्त्वाकांक्षाले पखेटा हालेको हो।

ज्ञानेन्द्र शाहले बुझ्नु जरुरी थियो, अहिलेका सत्तासीन दुवै दलका प्रमुख नेताहरू गणतन्त्रवादी होइनन्। लामो कुरा छोटोमा गरौँ। ०५२ सालमा नेकपा माओवादीको नाममा कथित् जनयुद्ध सुरु हुँदा भारतीय खुफिया संस्थाहरू बाहेक माओवादी आन्दोलनको समर्थनमा को थियो?

के माओवादीका नेता पुष्पकमल दाहाल वास्तवमै जनक्रान्तिको पक्षमा थिए? के उनलाई साँच्ची नै भारतबाट नेपाललाई ‘खतरा’ छ भन्ने लागेको हो? गलत। बीपी कोइरालाले अनायाशै एउटा महत्त्वपूर्ण वाक्य बोलेर गएका छन्– ‘नेपालमा भारतीय विरोधी आन्दोलन पनि भारतबाटै सञ्चालित हुन्छ।’

नेपालमा नरसंहार हुँदा पुष्पकमल दाहाल नोएडामा आइसक्रिम खाएर बसेका थिए। उनले ‘पाँच हजार नेपाली नागरिक मारेको’ सार्वजनिक रूपले ‘हो, मैले नै हो’ भनिसके। बाह्र हजार अन्य नागरिकको हत्या कसले गर्‍यो?

यसको जिम्मा ज्ञानेन्द्र शाह र शेरबहादुर देउवाले लिनुपर्दैन? माओवादीविरुद्ध ‘फाइनल असल्ट’ गर्न तत्कालीन राजासँग मिलेर देउवाले पार्टी खिलाफमा जाने आँट देखाएकै हुन्। आन्तरिक रूपमा कांग्रेस, कम्युनिस्ट, राजावादी र बाह्य रूपमा भारत, चीन, अमेरिका चलखेल हुँदैगर्दाको त्यो अवस्थामा तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लक देउवा र आरजुको लगन गाँठो कस्न कस्सिनुको अभिप्राय के थियो? परम्परागत रूपले भारतीय संस्थापनसँग नाइटो जोडिएको नेपाली कांग्रेसभित्र पश्चिमा पक्षधरको उदय अनायास थियो वा यो एक सुनियोजित चाल थियो? देउवा र आरजु राणा नेपाली कांग्रेसको बैचारिक धार परिवर्तन गर्न कसरी कारक भए?

नेपालीहरूलाई यस्ता झिनामसिना कुराभन्दा आउने चुनावमा कसले जित्छ? यो चिन्ता छ। कसले मेरो ज्वाइँलाई भन्सारमा जागिर लाइदिन्छ भन्ने छ। नेपालीहरू विचारले कोही पनि कांग्रेस, कम्युनिस्ट वा राजावादी छैनन्। दास मनोभावनाले ग्रस्त सामाजिक स्वरूपले सधैँ आफ्नो लागि ‘केही गरिदिने’ देवदूत खोजेको हुन्छ।

कमिसन एजेन्टहरूको चंगुलमा मुलुक

भारतीय प्रायोजनमा नेपालमा आएको सात सालको राजनीतिक परिवर्तनपछि ‘डकोटा’ जहाजमा पशुपति मन्दिर छेउको गाई चर्ने मैदानमा ओर्लिएका तत्कालीन राजा त्रिभुवनलाई स्वागत गर्ने भीड त्यही थियो, जो भरत शमशेरको गोर्खा दलले बाँडेको जाँड खाएर बीपी कोइरालाको हत्या गर्न उनको त्रिपुरेश्वर निवास पुगेको थियो। ०१५ सालको चुनावमा बीपीले दुई तिहाइ बहुमत ल्याएको अवस्थामा समेत छ महिनासम्म सरकार गठन गर्न आलटाल गर्ने तत्कालीन राजा महेन्द्रको नियतका बारेमा जनता अनभिज्ञ थियो। बीपीको नायकत्वमा सुरु भएका सुधारवादी र सामन्तीप्रथा विरोधी निर्णयका बारेमा जनताले ध्यान दिएन। ०१७ सालमा भएको सैनिक कू को स्वागतमा दीपावली गर्ने नेपाली जनता नै थिए।

उन्नाइस सालमा ऋषिकेश शाहको संविधानले सुटुक्क नेपाललाई पहिलोपटक हिन्दु राष्ट्र तुल्याएको वा सात सालको उपलब्धिलाई उल्ट्याएर मुलुकको सार्वभौमसत्ता जनताको हातबाट श्रीपेचमा सुम्पिएको कुरा जनताले भेउ नै पाएनन्। ०४६ सालको आन्दोलनमा तत्कालीन राजाको नाम लिएर ‘देश छोड्’ भन्ने नारा लगाउने त्यही जनता थियो, जसले ०५८ सालको राजदरबार नरसंहारपछि आफ्नो कपाल खौरिएर ‘दाइ मार्न पाइँदैन, ज्ञानेन्द्र राजा चाहिँदैन’ भन्ने नारा लगायो। त्यही जनता हो, जसले माघ १९ मा ज्ञानेन्द्र शाहले गरेको सैनिक कू लाई ‘स्वर्ण युग’का रूपमा बुझ्यो। त्यही जनता ०६२–६३ सालको आन्दोलनमा नारायणहिटी दरबार घेर्न पनि पुग्यो।

यही जनताले माओवादी अध्यक्ष प्रचण्डलाई त्यसपछि देवदूत तुल्याएर चुनावमा बहुमत दियो। यसबीच बागमतीमा धेरै पानी बग्यो। नेपाली कांग्रेसबाट पटके प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाले सिंहदरबारको कुर्सी तताए। पाँचजना अरु वामपन्थी नेताले देउवाको अनुसरण गरे। मुलुक सकारात्मक सामाजिक रूपान्तरणको बाटोमा जानुको साटो कमिसन एजेन्टहरूको चंगुलमा पर्‍यो।

को हुन् यी कमिसन एजेन्टहरू? त्यो तत्व जसलाई अहिले सतारुढ नेपाली कांग्रेसका आगो महामन्त्री गगन थापा ‘बिचौलिया’ भन्न रुचाउँछन्। उनले ‘कमिसन एजेन्टहरू प्रधानमन्त्रीको शयनागारसम्म पुगेका छन्’ भन्दा राजनीतिक खेमा तरंगित भयो। उनी आफै राज्य सञ्चालक संयन्त्रका सदस्य भएको नाताले यो तरङ्ग स्वाभाविक थियो।

अजय सुमार्गी र शेर्पा समूह

गोर्खा दरबारमा माटोको ढिस्कोमा ओछ्याएको राडीमाथि बसेर शासन गर्ने पृथ्वीनारायण शाहले ‘नेपाल खाल्डो’मा सुनचाँदी जडित सिंहासनमा बस्ने मल्ल राजाहरूको शानसौकत देखेपछि उनमा लोभ पलायो वा अचानक ‘एकीकरण’ को भावना जागृत भयो? दिव्योपदेशका रचनाकारहरू यसबारेमा मौन छन्। इन्द्रजात्राको दिन काठमाडौँका राजा जयप्रताप मल्ललाई धपाएपछि पृथ्वीनारायण शाहले ‘जीवित देवी’ कुमारीको पाउ ढोग्नुको कारणमा कुन रणनीति लुकेको थियो?

युरोपमा प्रकृतिपूजक ‘पेगन’हरूको भूमि कब्जा गरिसकेपछि ईसाइहरूले जिसस क्राइस्ट संवत सुरु भएको तीन सय वर्षपछि डिसेम्बर २५ मा मात्रै किन क्रिसमस मनाउन थाले? नयाँ विजित भूभागमा राजनीतिक नियन्त्रण कायम गर्न स्थानीयको मन जित्नु जरुरी हुन्छ। रैथाने संस्कारको अनुसरणले नयाँ र पुराना वर्गको समन्वय गर्छ। पृथ्वीनारायण शाहले यसै गरे। उनले यति मात्र गरेनन्। विजित राज्य टिकाउन पैसा पनि चाहिन्छ। गोर्खा राज्य गरिब थियो। शाहका सामुन्ने लिच्छविकालदेखि उत्तर र दक्षिण पुगेर आफ्नो व्यापारिक साम्राज्य खडा गरेका अमात्यहरूसँग मिलेर जानुको विकल्प थिएन।

अमात्यजस्तै अरु नेवार खलकका व्यापारी पनि थिए। शाहका ज्योतिषीहरू ‘गुरुज्यू’ का रूपमा शक्तिशाली हुन थाले। कालान्तरमा जोशी कहलिएका ज्योतिषीहरू र दक्षिणका व्यापारीहरूसँग साँठगाँठ बलियो भयो। चिना पात्रो हेरेर उनीहरूले भारतीय घरानाका छोरी र शाहवंशका उत्तराधिकारीहरूको वैवाहिक गठजोड बनाए। ती बेलाका अमात्य, जोशी, राजभण्डारी, वैद्य, तुलाधर आदि इत्यादि खलक पञ्चायतकालको अन्त्यसम्म शक्तिशाली थिए।

नयाँ दरबारको कान खल्तीमा बोकेर हिँड्ने व्यापारी राजगुरुको पछि लाग्दा स्थानीय रैथाने नेवार व्यापारीहरूको कारोबार थप चम्कियो। दरबार र भारदार मोटाए। जनता दुब्लायो। नेपालमा कमिसनतन्त्रको जालो र भूमिगत गिरोहको खटनपटन अहिले मात्र सुरु भएको होइन। विस्थापित राजा ज्ञानेन्द्र शाह र उनकी भाउजू ऐश्वर्यको संरक्षणमा मारवाडी समुदायको उदय भएको धेरै भएको छैन। नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी यसको एक झिलझिले उदाहरण हुन्।

०६२–६३ सालको राजनीतिक परिवर्तनपछि नयाँ शासकहरूको आशीर्वादमा नयाँ कमिसनखोरहरूको मण्डली जन्मियो। समाज परिवर्तन गर्न सत्तामा पुगेका माओवादी नेता प्रचण्डले अजय सुमार्गी जन्माए। ओलीले शेर्पा समूहको पृष्ठपोषण गरे। शेरबहादुर देउवा र आरजुको जोडीले उत्पादन गरेको बिचौलिया समूहको सूची झन् लामो छ। यो दम्पतीले विदेशबाट पढेर आएको आफ्नै छोरालाई बाँकी राखेन। यो भन्दा बढी नलेखौँ!

निराशाजनक नयाँ राजाहरू

पुरानो पार्टीको खोलमा उदाएका नयाँ राजामध्येका एक गगन थापा प्रतिनिधि पात्र हुन्। उनको ‘सफलता’को गन्तव्य शेरबहादुर देउवाले तताएको कुर्सी हो। तर यो नेपाली जनताको सफलता हुन सक्दैन। विद्यार्थी नेताहरू राजनीतिज्ञ हुने सपना देखेर मैदानमा उत्रिन्छन्। कालान्तरमा व्यापारीको कारिन्दा भएर राजनीतिक ‘उद्यमी’ मा परिणत हुन्छन्। गगन थापा अझै शंकाको सुविधा लिन योग्य छन्।

नयाँ उदीयमान राजाहरूमा त्यो सम्भावना देखिएन।

सत्तासीनहरूप्रतिको घृणा निम्छरो समाजमा गजबको राजनीतिक हतियार हुन्छ। एउटा राजा विदेशबाट आयो। सरकारी टेलिभिजनमा कार्यक्रम चलायो। कानुनी रूपले त्यसो गर्न मिल्थ्यो, मिल्दैनथ्यो, यसको जवाफदेहिता वर्तमान प्रधानमन्त्री केपी ओलीमा निहित छ। उनले सार्वजनिक कार्यक्रमममा ‘त्यो व्यक्ति बेरोजगार थियो, मैले जागिर दिएको हो’ भन्ने कबुल गरेका छन्। जुन देशमा हरेक दिन हजारौँ युवा रेमिट्यान्स कमाउन विदेशिनु पर्ने बाध्यता छ, त्यो देशका प्रधानमन्त्रीले एउटा अमेरिकी नागरिकलाई रोजगारी दिनु जायज थियो? जनता प्रश्न गर्दैन। उखानटुक्कामा ताली बजाउँछ। आत्ममुग्ध प्रधानमन्त्री आफू कर्तव्यच्यूत भएको कुरा सगर्व सुनाउँछन्। बिरालो बाघ भएपछि सिकारी बोलाउँछन्। बाघ र बिरालो बीचको वर्णशंकर स्याल खोर जान्छ।

अर्को बाघ जस्तो नयाँ राजा पनि उदाएको हो। स्थानीय निकाय राजनीतिभन्दा विकास गर्ने थलो हो। नयाँ राजाले आफ्नो जात, थर गोत्र परिवर्तन गरेको थियो। जसलाई देश छोड भनेको उसैको मृत्युमा कपाल खौरिने जनताले नपत्याउने कुरै थिएन। सामाजिक सञ्जालको चाहलपहलकै कारण उसले अत्याधिक मतले चुनाव जित्यो। आज ऊ टाउको उठाएर कार्यालय जान सक्दैन। आफ्ना लागि मात्र बनाएको ‘लिफ्ट’ समेत बन्द छ। उ सामाजिक सञ्जालबाट काम गर्छ। कहिले सिंहदरबार जलाइदिन्छ, कहिले विरोधीलाई टुकुचामा गाडिदिन्छ।

ऊ आफ्नै देशका अन्य भेगबाट आएका देशवासीलाई ‘आर्थिक आप्रवासी’ भनिदिन्छ। उसँग तिनै जनताले तिरेको करबाट तलब खाने नगर प्रहरीहरूको एउटा गुण्डा दल छ। ती गुण्डाको बलमा ऊ नागरिकको इमान्दार आजीविका गर्ने अधिकारमाथि धावा बोल्छ। महिला सडक व्यापारीलाई पुरुष गुण्डा लगाएर बीच बजारमा पिटाउँछ। अनि गाउँछ, ‘गरीबको चमेली, बोल्दिने कोही छैन!’

उसले आफ्नो कार्यालयमा सुगौली सन्धिअघिको ‘बृहत् नेपाल’को नक्सा टाँगेको छ। जनता उसलाई भोलिको ‘कार्यकारी राष्ट्रपति’ भन्दैछ। कस्तो होला यो नयाँ राजाको कार्यकाल? भीडसँग शरीर हुन्छ, दिमाग हुँदैन।

सामाजिक सञ्जालमा उसलाई ‘किङ’ र उसकी पत्नीलाई ‘क्विन’ भन्नेहरू एक घन्टामा एक लाख तयार हुन्छन्। तर उसले हचुवामा सुकुम्बासी उठाउन गरेको प्रयत्नमा भौतिक साथ दिन एउटा अघि सर्दैन। सामाजिक सञ्जाल मृग मार्न नसक्ने कुकुर जस्तो हो। मधेसको तेली समुदायबाट उदाएर राजधानीका ठकुरी भएका नयाँ यी राजालाई यसको आभास साँझ चढेपछि मात्र हुन्छ। फेसबुकमा आउने नयाँ राजाको ‘स्ट्याटस’ त्यो उद्वेगको प्रतिबिम्ब मात्रै हो। नयाँ राजासँग न गर्ने क्षमता थियो, न स्वप्नदृष्टि। उखेलिएको टुकुचा होस् वा दरबारमार्गमा ओछ्याएको ग्रानेटको फुटपाथ, सबै लहडको उपज रहेछ!

भूराजनीतिक यथार्थ र मनोविनोदी कल्पना अहिलेको नेपालमा एकाकार हुँदैछ। यो विलयन घातक छ।

केपी ओली कम्युनिस्ट थिएनन्

सत्य सधैँ सुखद हुँदैन। नेपाली सन्दर्भमा सत्य दुःखद छ। हामी नामको भीडमा रमाएर म, तिमी, तपाईं वा तँ को सम्मान नगर्ने समाजले प्रगति गर्दैन। व्यक्ति त्यतिबेला मात्र सक्षम हुन्छ, जब ऊ मौलिक सोचमा उभिएर आफ्नो कुरा निर्भयपूर्वक व्यक्त गर्न सक्षम हुन्छ। नेपालमा त्यो वातावरण छैन।

पृथ्वीनारायण शाहले ‘एकीकरण’ गरेको राज्यमा कसले सुरु गर्‍यो, ‘हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेष’ भन्ने नारा? नेपालका हरेक जिल्लाको सिमाना काट्दा भिन्न प्रकारका खाना खान पाइन्छ। तीन करोड जनसंख्या नपुगेको यो मुलुकमा एक सय चालीसभन्दा बढी भाषा बोलिन्छ। धिमाल लगायत कतिपय समुदायसँग आफूले बोल्ने भाषाको लिपि नै छैन। तर सयौँ वर्षदेखि ती भाषा बोलिएका छन्। मधेसका सीमान्तकृत र दलित समुदाय आजभन्दा सय वर्षपहिले जुन अवस्थामा थिए, अहिले पनि उनीहरूको जीवनमा कुनै सुधार भएको छैन।

नाक थेप्चो भएका कथित जनजातिहरू नाक चुच्चे बाहुनले उनीहरूको विनाश गरेको गीत गाउँछन्। राज्यसत्ताको एक छटाक खान बाहुनक्षेत्रीको चाकरी गर्न जाने जनजातिका नेता को हुन्? पञ्चायतकालमा पाँचथरका पद्मसुन्दर लावतीले किन अरु लिम्बुलाई अघि बढ्न दिएनन्? किन केपी ओलीले एमालेको सिटमा सुवास नेम्बाङकै छोरालाई उठाए? मधेसका राजावादी नेता बद्री मण्डलले अर्को मण्डललाई राजनीतिमा आउन किन रोके? पढेलेखेको भनिएको रास्वपाको नेता मनिष झाले निलो स्यालको खातिर किन आफ्नै समुदायको कैलास सिरोहियालाई गैरनागरिक तुल्याउन षड्यन्त्र गरे? यस्ता उदाहरण धेरै छन्।

नेपाल भावनात्मक रूपले राष्ट्र हुन सकेको छैन। नेपालको आफ्नै दक्षिणी सीमामा नेपालको नियन्त्रण छैन। उत्तरी सीमाको कथा त तातोपानी, केरुङ र कोरला नाकामा नेपाली शासनको दयनीय उपस्थितिले स्पष्ट पारेकै छ। तातोपानीबाट कुनैबेला रक्तचन्दन तस्करी हुन्थ्यो, अहिले केरुङबाट सुन तस्करी हुन्छ। के लाभ लियो उत्तरी सीमाबाट आजसम्म राष्ट्रिय अर्थतन्त्रले? यो केपी ओलीले आफ्नो कथित राष्ट्रवादी ‘अडान’ देखाएर जनता भ्रमित गर्ने एक उपक्रमबाहेक अरु केही भएन।

केपी ओली कम्युनिस्ट थिएनन्, होइनन्। उनी पृथ्वीनारायण शाहले आरम्भ गरेको मध्य पहाडी ढाका टोपी, दौरा सुरुवाल बर्चस्ववादका एक अभियन्ता हुन्। शेरबहादुर देउवाका बारेमा धेरै बोल्नु जरुरी छैन। जनवादी गणतन्त्र ल्याउन युद्ध गर्ने माओवादी नेता प्रचण्डले दौरा सुरुवाल लगाएको दिन त मध्यपहाडी राष्ट्रवादको विजयको एक चक्र गजबले पूरा भएको हो। रेमिट्यान्सको पैसाले प्लाज्मा टीभी किनेर द भ्वाइस अफ नेपाल हेर्ने नेपाली नागरिकलाई यो कुरा चित्त बुझ्दैन भने त्यो स्वाभाविक पनि हो। नेपालमा राष्ट्रिय चेतना र आर्थिक जागरुकताको जग बस्न बाँकी छ।

दोस्रो विश्वयुद्धपछि कोरियालीहरूलाई ‘आयो जापानी!’ भनिदिए पुग्थ्यो भन्ने एउटा उखान छ। कोरियालीहरू त्यो बेला आफू जे काम गर्ने हो, त्यो औजार बोकेर आफ्नो काममा जान तयार हुन्थे रे! त्यो पनि मध्यरातमा! नेपालीहरूले विदेशीले थोपरेको नाकाबन्दी खपेका छन्। त्यसले नुनतेल भन्दा पनि गाडी चढ्ने सम्भ्रान्तहरूलाई पेट्रोलको अभाव भएको हो। नुन नपाए कागती र खुर्सानीसँग भात खान तयार नेपालीलाई राष्ट्रियता सधैँ प्यारो छ।

तर पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको रौसमा जन्मिएका राजा गीर्वाणयुद्ध विक्रम शाहका पालामा भीमसेन थापाको मुख्तियारी अन्तर्गत नेपालको एक तिहाइ जमिन कसरी बेलायती इन्डियाको भागमा गयो? त्यतिबेला के भयो? के अहिले इतिहासले देशद्रोही भनेको चन्द्रशेखर पाध्या र गजराज मिश्रको हैसियत थियो त्यो सन्धि गर्ने? नेपालको इतिहास, कमसेकम इतिहासको पाठ्यक्रममा यसबारे मौन छ। तर भीमसेन थापा राष्ट्रिय विभुतिमा गनिएका छन्।

अनि अचानक सन् १९७३ मा विक्षिप्त भएर ईहलीला त्यागेका कवि गोपालप्रसाद रिमालको गीत ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो’ अहिलेको पुस्तालाई मन पर्न थालेको छ। रिमाल आफ्नो जीवनको अन्त्यमा कम्मरमा खुकुरी भिरेर हिँड्न थालेका थिए। उनलाई नेपाल हारेको र सुगौली सन्धि भएको कुरा भ्रम जस्तो लाग्थ्यो। त्यसैले उनले त्यो गीतमा अर्को पंक्ती थपेका थिए, ‘साम्राज्य दुई हारे, हारेन शान हाम्रो।’

सुगौली सन्धि गर्दा बाठा गजराज मिश्र ‘पखाला लागेको’ बहानामा अंग्रेज जर्नेलहरूका सामु उपस्थित भएनन्। चन्द्रशेखर पाध्यालाई अंग्रेजहरूले कागजमा सही गर्न लगाए। तर शिष्टाचारको एक शब्द सोधेनन्। दस कोसको यात्राबाट आएका उनलाई पानी खान भन्नु त टाढाको कुरा, कुर्सीमा बस्न पनि दिएनन्। यो हो नेपाली राजवंशको इतिहास!

चन्द्रशेखर पाध्याले घुस खाएर सुगौली सन्धिमा सही गरेको भए उनलाई लुमडीमा काटिने थियो। नेपाली इतिहास शाहवंशको जयगानका निम्ति झुटको सहारामा खडा भएको एक तिलस्मी कथा हो। गणतन्त्रका श्री ३ हरू यसमा नयाँ अध्याय थप्दैछन्।

जाँदाजाँदै…

एकादेशमा एउटा राजा थियो। उसलाई खुब मिठोमसिनो खान मन लाग्थ्यो। उसले देशभरिका भान्सेहरूलाई जम्मा गरेको थियो। दरबारको भान्सामा सधैँ मुख रसाउने पकवान पाक्थ्यो। यसको सुगन्ध मुसाको नाकमा पर्‍यो। मुसाहरूले सुरुमा भान्सा, पछि दरबार कब्जा गर्न थाले। राजालाई रिस उठ्यो।

उसले भारदारहरूलाई सोध्यो, ‘मुसाले आजित बनाए। के गर्ने?’

भारदारले भने, ‘बिरालो पाल्ने सरकार!’

बिरालो पालियो। मुसा गए। बिरालो बढे। जता हेर्‍यो, त्यतै फोहोर, दरबारका सुनौला पर्दा र तन्नाहरू च्यात्तिए। राजा रिसायो। उसले दरबार बोलायो। भन्यो, ‘बिरालोले दुःख दियो, के गर्ने?’

भारदारले भने, ‘कुकुर पाल्ने सरकार!’

कुकुर पालियो। कुकुरले बिरालोभन्दा बढी फोहोर गरे। राजा टहलिने बगैँचामा उनको खुट्टा कुकुरको बिष्टामा पर्‍यो। राजालाई रिस उठ्यो। उसले दरबारमा सोध्यो, ‘कुकुरले दुःख दियो। के गर्ने?’

भारदारले भने, ‘बाघ पाल्ने सरकार!’

अब बाघ पालियो। राजाका सेवक एकपछि अर्को गर्दै भटाभट बाघको आहार हुन थाले। राजा भोकै भयो। उसले फेरि दरबार बोलायो। सोध्यो, ‘बाघले वितण्डा मच्चायो। के गर्ने?’

भारदारले भने, ‘हात्ती पाल्ने सरकार!’

अब दरबारमा हात्ती आए। दरबारका भएभरका सारा किमती सामानको काम तमाम। एकपटक त राजालाई समेत हात्तीले सुँडले बेरेर झन्डै हुत्यायो। हातीलाई को राजा को प्रजा?

राजाले दरबारमा सोध्यो, ‘यी हात्ती त झन् खतरा रैछन्। यिनलाई कसरी तह लाउने?’

भारदारले भने, ‘मुसा पाल्नुपर्छ सरकार!’

हामी नेपालीहरू पनि मुसाबाट सुरु भएर मुसामै आइपुगेका छौँ भन्दा गाली खानुपर्ने हो त?

(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular