- २०८२ वैशाख २१ आइतबार । काठमाडौं
कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।
देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको हो ।
बिहान ८:०० बजेदेखि सुरु भएको परीक्षा ११:०० बजे चल्नेछ ।
परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष परिचालनगरिएको छ ।
विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी खटाइएको छ ।
२० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र सबैभन्दा कम मनाङ-मुस्ताङमा एक-एक परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
पाँच लाख ११ हजार ५२५ परीक्षार्थी
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।
आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी छन् ।
यसरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।
परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको छ ।
मोबाइल र स्मार्ट घडी निषेध
परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ ।
परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भइरहेको छ ।