- २०८२ वैशाख २० शनबिार । काठमाडौं
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।
सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
ओलीले भने-
-माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् ।
-ढुक्कले सही छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ ।
-विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लाग्या छ, कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन ।
-विपक्षीले भनेको कुरामा सत्यता छ कि भनेर धेरै घोत्लिन आवश्यक छैन ।
-सही कुराको विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ ।
-जुन उहाँहरूका निम्ति भविष्यमा नराम्रा रेकर्डको रुपमा रहनेछन् ।
-हाम्रो पुस्ताभन्दा बढी समयसम्म पनि त्यो रेकर्ड रहनेछ ।
-माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस् ।
एक नम्बरतिर उकालो लाग्दैछौँ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले केही समयभित्र देशको राजनीतिक रंगमञ्चलाई फेरि माओवादीमय बनाउन सकिने बताएका छन् ।
पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले भने-
-अहिले कांग्रेस र एमाले मिलेर आफूहरुलाई जनतामा जाने वातावरण बनाइदिए ।
-म अहिले खुसी छु, अहिले देशैभरि सक्रियता बढेको छ ।
-सोसल मिडियामा हाम्रो हालत दुई चार महिनासम्म करिब करिब गएगुज्रेको थियो ।
-अहिले हेर्दाहेर्दै साथीहरुले के के गर्नुभएको छ, मलाई सबै टेक्निकल त थाहा छैन, तर हामी एक नम्बरतिर उकालो लाग्दैछौँ ।
-त्यसले जनमतलाई आकर्षित गर्दै पनि छ ।
-पछिल्लो सबै परिस्थितिलाई हेरेर २०८४ मा एक नम्बरको पार्टी भएरै छाड्छौं ।
-समाजवादी क्रान्तिको आधार तयार पारेरै छाड्ने हो ।
-त्यसकै निम्ति म चाहिँ रातदिन यो पटक जसरी पनि अगाडि जाने भनेर हिँडेको छु ।
-मलाई आशा र विश्वास छ ।
-अहिले पनि बिहानदेखि रातिसम्म लागेको छु ।
हामीसँग जनमतको कमी छैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा गम्भीर भूमिका खेल्नुपर्ने समयले माग गरिरहेको दाबी गरेका छन् ।
पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा भने-
-आफ्नो पार्टी अरू कुनै पार्टीमा गएर विलीन हुँदैन ।
-हामीले अरू वामपन्थी शक्तिहरूलाई पनि गोलबन्द गर्नुपर्छ ।
-गोलबन्द हुन चाहनेहरूलाई हामी एकताबद्ध बनाउँछौँ ।
-विभिन्न व्यक्तिहरू हाम्रो पार्टीमा आउन चाहनुभएको छ, आइ पनि रहनुभएको छ ।
-त्यसैगरी अरूलाई पनि ल्याइरहेका छौँ, तर हाम्रो पार्टी अर्को पार्टीमा गएर विलीन हुनेछैन ।
-एमालेमा जान्छ कि भनेर कसैले सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छ, त्यो सम्भावना छैन ।
-हाम्रो पार्टीमा जनताको मतको कमी छैन ।
-अस्तिमात्रै पनि म कालीकोट पुगेर आएँ, कर्णालीका विभिन्न जिल्लाहरूमा पनि हजारौँ मान्छेहरूको जुलुस र सहभागिता देखेँ ।
-रौतहट र सप्तरीमा पनि यस्तै सहभागिता थियो ।
-तराई, पहाड र हिमालमा पनि अगाडि बढेको छ ।
-त्यसैले अरू पार्टीभन्दा शक्तिशाली बनाउन जुट्नुपर्छ।