- २०८२ वैशाख १९ शुक्रबार । काठमाडौं
बालाजु माछापोखरीको सडक किनारामा काठमाडौं महानगरपालिकाले व्यापार गर्न नदिएपछि नुवाकोटको ओखरपौवाका स्थानीय आन्दोलित भएका छन् ।
तरकारी व्यापारीलाई व्यवस्थित बनाउन महानगरले सडक किनारामा व्यापार गर्न रोक लगाएको हो ।
यसको विरोधमा आज बिहान साँढे पाँच बजेतिर नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा स्थानीयले सडकमा तरकारी राखेर बाटो अवरोध गरे ।
४०-५० जनाका भेला भएर उनीहरुले सडक अवरोध गरेका हुन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले सडकमा तरकारी बेच्न नदिएको भन्दै उनीहरुले सडकमै तराकारी राखेर विरोध जनाएका हुन् ।
प्रहरी चौकी ओखरपौवाबाट प्रहरी सहायक निरिक्षक रुपक थापाको कमाण्डमा ७ जना र प्रहरी चौकी ककनीबाट प्रहरी निरिक्षक कुमार बहादुर खडकाको कमाण्डमा ५ जनाको टोली त्यहा पुगेर सडक खुलाएको थियो ।
हरेक दिन बिहान माछापोखरीको सडकमै तरकारी बेच्ने गरिएकोमा केही साताअघि महानगरले रोक लगाएको छ ।

महानगरपालिकाको ट्रक रोके
काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले बाटोमै रोकिदिएका छन् ।
ककनी गाउँपालिका-१ मा स्थानीयले सडकमा ढुंगामुढा राखेर फोहोर बोकेर गाएका ट्रक रोकिदिएका हुन् ।
करिब २ सय ट्रक सडकमै रोकिएका छन् ।

बालाजु माछापोखरीमा तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले सडकमा तरकारी बेच्न नदिएको र धरपकड गरेको स्थानीयको आरोप छ ।
तिनपिप्ले-सिसडोल सडक खण्डमा सार्वजनिक, निजी गाडी बाहेक फोहोरका गाडीलाई निषेध गरिएको छ ।
काठमाडौं महानगर वातावारण विभाग प्रमुख सरिता राईले भनिन्-
-हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ ।
-अहिले हामी वार्ता गर्दैछौं ।
-दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ ।