spot_img

दुई हप्तापछि घर आउने प्लान थियो प्रिशाको, होस्टलमै अस्ताइन्

  • २०८२ वैशाख १८ शुक्रबार काठमाडौं ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

वीरगञ्ज घर भएकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले भने-

-वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् ।

-घटनाको अनुसन्धान सुरु भएको छ ।

-प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

-परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ ।

-अहिले हामीले अनुसन्धान गरिरहेका छौं ।

-प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् ।

-तर, घटना भएको समयमा कोठामा कोही थिएनन् ।

-उनी बीटेक पहिलो वर्षको दोस्रो सेमेष्टरमा अध्ययनरत् विद्यार्थी हुन् ।

-त्यहाँको प्रहरीले प्रकृति लम्सालको घटना सम्झदै त्यो बेलाको जस्तो कमजोरी अहिले नगर्ने प्रतिबद्धता जनाएको छ ।

कडा कारबाही गर्न एबीभीपीको माग

भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी) ले केआईआईटीमा प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ ।

एबीभीपी भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विद्यार्थी संगठन हो ।

उसले भनेको छ-

-केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु कलेजको लागि घिनलाग्दो र लज्जास्पद घटना हो ।

-यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ ?

-कलेजविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गर्छौं ।

परराष्ट्रले थाल्यो कूटनीतिक पहल

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रिशाको घटनाले मर्माहत भएको बताएकी छन् ।

उनले भनेकी छिन्-

-प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

-परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।

ओडिसा सरकारद्वारा दुख व्यक्त

भारतको ओडिसा सरकारले घटनामा दुख व्यक्त गरेको छ ।

घटनाको जाँच गर्न पनि ओडिसा सरकारले आदेश दिएको छ ।

परिवार भारततर्फ

प्रिशाको परिवार राति नै भारततर्फ लागेका छन् ।

सर्लाहीको मलंगवा घर भई हाल वीरगन्ज महानगरपालिका-१५ मा बस्दै आएका श्याम साहकी छोरी हुन् प्रिशा ।

प्रिशाको मृत्यु भएको कुरा उनकै भाइ गौरवले बिहीबार राति फोन गरेर बुवा श्यामलाई जानकारी गराएका थिए ।

घटनाबारे थाहा पाएपछि प्रिशाका परिवार भारत लागेका हुन् ।

प्रिशाको बुवा भिस्वामा बस्छन्, दुई तल्ले घर छ ।

प्रिशा : हिंसाविरुद्ध आवाज उठाउँथिन्

बिहीबार दिउँसो ३ बजेतिर प्रिशाले आफू ‘मे १८ तारिखमा बिदामा घर आउने’ भन्दै फोन गरेकी थिइन् ।

प्रिशा एक वर्ष अगाडी मात्रै अध्ययनका लागि सो विश्वविद्यालय गएकी थिइन् ।

उनी होस्टेलमा झुन्डिएको अवस्थामा मृत फेला परे पनि उनको मृत्यु रहस्यपूर्ण रहेको कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरू बताउँछन् ।

प्रिशा महिलामाथि हुने हिंसाविरुद्ध जहिल्यै आवाज उठाउने गर्थिन् ।

दुई महिना अगाडी मात्रै उनी वीरगन्जमा महिला हिंसाविरुद्ध प्रदर्शनमा सहभागी भएकी थिइन् ।

प्रकृति लम्सालको मृत्युपछि किटमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।

वीरगञ्जका अन्य विद्यार्थीसँगै प्रकृतिको न्यायका निम्ति प्रदर्शन गरेका थिए ।

त्यहीँ प्रदर्शनकारीको भिडमा थिइन् प्रिशा पनि ।

सिरहा नवराजपुरकी बलात्कृत किशोरी रिंकू सदाय मृत फेला परेपछि घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन भएको थियो ।

उक्त प्रदर्शनमा पनि सहभागी थिइन्, प्रिशा ।

भाइ गौरवले भने-

-दिदी (प्रिशा) पढाईमा अब्बल थिइन् ।

-त्यसैले महंगो मानिने किट कलेजमा पढाउन परिवारले कुनै हिच्किचाहट गरेन ।

-हामी उनीप्रति निकै आशावादी थियौं, केही बनेर फर्किन्छिन् भन्ने ठूलो भरोसा थियो ।

केआईआईटीले दियो श्रद्धाञ्जली, मृत्युको कारणबारे मौन

केआईआईटीले प्रिशाको निधनप्रति शोक व्यक्त गरेको छ ।

विश्वविद्यालयका वरिष्ठ पदाधिकारी एकै ठाउँमा भेला भई उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै परिवार, साथीभाइ र सम्पूर्ण विद्यार्थी समुदायसँग ऐक्यबद्धता प्रकट गरेको छ ।

प्रिशाको असमायिक निधनले सम्पूर्ण केआईआईटी परिवार स्तब्ध र शोकाकुल भएको बताएको छ ।

तर, केआईआईटी प्रशासन प्रिशाको मृत्युको कारणबारे मौन रहेको छ ।

कलेजले अहिलेसम्म उनको मृत्युबारे बोलेको छैन ।

प्रकृति लम्साल

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् ।

तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो ।

कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए ।

कलेज प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो ।

त्यो घटनामा कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको व्यापक आलोचना भएको थियो ।

त्यसपछि कलेजले माफी माग्दै केही कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरबाही ठहर गरेको थियो ।

चिन्तामा विद्यार्थी

करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा लगातार यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ ।

पिके कलेजमा प्रदर्शन

पद्मकन्या कलेज काठमाडौंका विद्यार्थीहरुले प्रिशा साहको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

स्ववियुका नेतृत्वमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले कालो मास्क लगाएका थिए ।

उनीहरुले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

स्ववियु सभापति भूपी ऐरले घटनामा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular