spot_img

रेशम चौधरी प्रकरण : पत्र लेख्ने महिमान समातिएपछि छुटे रेशम

  • २०८२ वैशाख १७ बुधबार । काठमाडौं

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी बुधबार पक्राउ परे ।

पक्राउपछि घटनाक्रमहरु यसरी छिटो छिटो विकास भए कि उनलाई किन पक्राउ गरिएको हो ?, कुन अभियोग लगाइएको हो ? भन्नेसम्मका अलमलहरु सार्वजनिक भए ।

प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुयाइसक्दा पनि सर्वोच्च अदालत प्रशासन उनको पक्राउको कारणबारे अलमलमै थियो ।

जबकी त्यतिबेलासम्म परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहोराले सर्वोच्चको पत्रपछि उनी पक्राउ परेको र यसबारे विस्तृतमा सर्वोच्चमै बुझ्न भनेका थिए ।

पाँच घन्टामा के–के भयो ?

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट आज दिउँसो प्रहरीले नियन्त्रणमा लियो ।

सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले उनलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न भन्दै चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा लगिएको प्रहरीले बताएको थियो ।

प्रहरी अधिकारीहरुले राष्ट्रपतिले दिएको आममाफी सर्वोच्चले उल्ट्याएको बताएका थिए ।

२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

चौधरी पक्राउ परेपछि जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भयो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले बताए ।

किन पक्राउ परे ?

तर चौधरी पक्राउको अन्तर्य एकैछिनमा उद्घाटित भयो ।

सर्वोच्च अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि चौधरी पक्राउ परेको खुल्यो ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै अनाधिकृत रुपमा उल्ट्याइदिएका तथ्य खुल्यो ।

अनाधिकृत रुपमा चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लियो ।

विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेको छ ।

एकैछिनमा मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टबाट जारी आएको आदेश अनधिकृत रहेको सर्वोच्च अदालतले जनायो ।

सर्वोच्च अदालतले उक्त पत्र काट्ने शाखा अधिकृत सिंहलाई कानुन बमोजिमको कारबाही प्रकिया सुरु भएको विज्ञप्ति नै जारी गर्‍यो ।

विष्ट पक्राउ परेको केहीबेरमै चौधरी डिल्लीबजार कारागारबाट छुटे ।

यो धेरै माथिबाट भएको हो : राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नु ठूलो षड्यन्त्र भएको बताएका छन् ।

कारागारबाट छुटेका चौधरीलाई लिन पुगेका राउतले पार्टी एकता हुने बेलामा चौधरी पक्राउ पर्नुलाई ठूलो षड्यन्त्रको रुपमा लिएको बताएका हुन् ।

उनले संक्षिप्त प्रतिक्रिया दिँदै चौधरी पक्राउ पर्नुमा मधेशवादी दलहरुको हात रहेको आशंका व्यक्त गर्दै जनमत र नाउपाको एकता भाड्ने प्रयासको रुपमा लिएको उनले बताए ।

उनले भने-

-हाम्रो एकतालाई भाड्ने प्रयासका रुपमा लिएका छौं ।

-ठूलो षड्यन्त्रको रुपमा लिएका छौं ।

-यो लोकतान्त्रिक व्यवहार होइन ।

-त्यो रुपमा बुझेका छौं ।

-सिमान्तकृत शक्तिहरु बन्न लाग्दा त्यसलाई भाड्नको लागि कहाँबाट देखिन्छ भने एकीकरण घोषणा हुन लागेकै दिन त्यही ठाउँबाट पक्राउ गर्नुले छर्लङ देखाइरहेको छ ।

-त्यसैले यसलाई हामीले ठूलो षडयन्त्रको रुपमा लिएका छौं ।

-पक्कै पनि षडयन्त्र भएको भन्ने कुरा हामीले बुझेका छौं ।

-हामी बैठक बस्छौं, छलफल गछौं ।

-के कस्ता कुराहरु भएका छन् कहाँकहाँबाट थ्रेट छ कति सम्म थ्रेट छ ।

-यो सामान्य पक्राउ हुँदै होइन ।

-कर्मचारीलाई मोहोरा मात्र बनाइएको हो, मैले उहाँलाई बिचरा मात्र भन्न सक्छु ।

-यो धेरै माथिबाट भएको हो ।

-रेशम चौधरीले त एकीकरण अभियान अगाडि बढाउ भन्नुभएकै हो जेलबाटै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular