- २०८२ वैशाख १६ मंगलबार । काठमाडौं
यार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका-७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह छन् ।
हाल उनी काठमाडौंको ठमेलमा बस्दै आएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक जनालाई ‘आफू पूर्व प्रहरी रहेको र अहिले अमेरिकाबाट फर्केर यार्सागुम्बा खरिद-बिक्री गर्ने व्यवसाय गरिरहेको’ भनेर झुट बोलेका थिए ।
यार्सागुम्बाको व्यापारमा लगानी गरे फाइदा हुन्छ भन्दै उनले रकम लिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यार्सागुम्बा किनबेच गर्ने व्यवसायमा लगानी गर्ने नाममा उनले ३६ लाख २ हजार १६६ रुपैयाँ लिएर फरार भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दीपेन्द्रलाई सोमबार ठमेलको एक दोहोरी साँझबाट पक्राउ गरेको हो ।
जताततै ठगी
-उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ कसुरको मुद्दा छ ।
-प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा बाँके प्रहरीमा अर्को मुद्दा छ ।
-सेनामा भर्ती गराउने भन्दै ४ लाख ठगी गरेको अर्को मुद्दा इलाका प्रहरी कार्यालय कोहलपुरमा छ ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।