- २०८२ वैशाख १६ मंगलबार । परासी
नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको छ ।
राति ११:०० बजेदेखि बिहान ५:०० बजेसम्म दाउन्नेको सडकमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
यसअघि यही वैशाख १५ गतेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
सडक विस्तारको काम नसकिएपछि वैशाख ३१ गतेसम्मै सवारी सञ्चालनमा रोक लगाइने भएको हो ।
दाउन्ने खण्डमा सडक मर्मतसम्भार र निर्माणकार्य हुँदैछ ।
रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई तीव्रता दिइएको छ ।
दाउन्नेको सडक खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी छ ।
कटिङको काम वर्खा लाग्नुअघि नै सक्के तयारी छ ।
दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ ।
यसअघि दाउन्नेमा चैत २७ देखि चैत ३१ गतेसम्म बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११:०० देखि बिहान ५:०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको थियो ।
नारायणगढ–बुटवल सडकको लम्बाइ एक सय १४ किलोमिटर छ ।
गैँडाकोट-दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ लेनको सडक बनेको छ ।
जोखिम बढी रहेको दाउन्नेको खण्ड (दुम्किबास-बर्दघाट) १४ किलोमिटरमा तीन लेनको सडक विस्तारको काम हुँदैछ ।
चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको हो ।
उसले तीनपटक म्याद थपिसकेको छ ।
तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म हो ।