- २०८२ वैशाख १३ शनिबार । धनगढी
अछामको साँफे हाटबजारमा भीषण आगलागी भएको छ ।
शनिवार बिहान साढे तीन बजेतिर साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा आगलागी भएको हो ।
विद्युत् सर्ट भएर सुरु भएको आगो छ बजे पछि नियन्त्रणमा आएको थियो ।
जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर अरू घरमा आगो सल्किन नदिएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर खरानी भएका छन् ।
आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभए पनि ठुलो आर्थिक नोक्सानी भएको छ ।
क्षतिको विवरण संकलनको प्रक्रिया भइरहेको छ ।
प्रहरीका अनुसार-
-स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
-आगो अन्य पसलमा फैलिंदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका छन् ।
-आगलागीबाट कालभैरव जनरल स्टोर, रिभर साइड नास्ता पसल, ब्युटि पार्लर, डाक मोबाइल ग्यालरी, कालभैरव सुनचाँदी पसल, रोड साइड रेष्टुरेन्ट, ईभी काउन्टर एण्ड पसल र शीतल होटल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको छ ।
-मंगलसेन नगरपालिकाको दमकल मर्मतका लागि धनगढी पठाइएको रहेछ ।
-त्यही कारण आगो नियन्त्रणमा लिन ढिलाइ भयो ।
-बिहान ६ बजेतिर (दमकलको प्रयोग नगरेरै) आगो नियन्त्रणमा लिइएको हो ।
जयगढ आगलागी
यसअघि २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो ।
उक्त आगलागीमा ३५ वटा पसल पूर्ण रूपले नष्ट भएको थियो ।
त्यहाँ ८ करोडभन्दा बढीको क्षति भएको थियो ।