- २०८२ वैशाख १२ शुक्रबार । काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेट्न सिंहदरबार गएका शिक्षक नेताहरू सिंहदरबारको गेटबाटै फर्किएका छन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको जम्बो टोली सिंहदरबारको गेटमा पुगेको थियो ।
त्यसका लागि शिक्षा मन्त्रालयले २५ जना शिक्षकहरुको सूची गेट पासका लागि सिंहदरबारको गेटमा पठाएको थियो ।
सुरक्षाकर्मीले सोही अनुसार मन्त्रीलाई भेट्न आउने शिक्षक नेताहरूको गेट पास लिएर बसेको थियो ।
तर सिंहदरबारभित्र जाने भनेका शिक्षक नेताहरू गेटबाटै फर्किए ।
शिक्षामन्त्री पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले उनीहरूलाई वार्तामा आउन आग्रह गरेका थिए ।
वार्ताका लागि आह्वान गरेको दुई घण्टा नबित्दै शिक्षकहरू छलफल गर्न तयार भएका थिए ।
गेटबाटै किन फर्किए ?
महासंघ अध्यक्ष सुवेदीले विशेष कारणले गेटबाटै फर्किएको बताएका छन् ।
त्यो विशेष कारण के हो भन्ने विषयमा भने खुलाएका छैनन् ।
उनीहरूले सिंहदरबार बोलाएर सुरक्षाकर्मीले गेटमै रोकेपछि फर्किएको बताए ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले छलफलमा बोलाएर भित्र छिर्न नदिएपछि गेटबाटै फर्किएको बताए ।
आफूहरूले नपठाएको नामको सूची गेट पासका लागि भने सरकारको तर्फबाट सार्वजनिक भएकोमा समेत शिक्षक नेताहरूले आपत्ति जनाएका छन् ।
शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासङ्घले तयार नपारेको अध्यक्ष सुवेदीले बताए ।