- २०८२ वैशाख ११ बिहीबार । काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताएकी छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा सुनिताले भनिन्-
-नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका छन् ।
-जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन ।
-नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा मैले विश्व सामु प्रस्तुत गरेको छु ।
-युवाले सही र गलत छुट्याउनु पर्छ, युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्छ ।
-सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुन्छन् ।
-मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले भनिन्-
-एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु ।
-स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ ।
-अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ ।
-अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ ।
-तर, स्टन्ट गरेर देश बन्दैन, देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।
-नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा होइनन् ।
आक्रमणलाई उत्कृष्ट कामबाटै परास्त
आफूले राम्रो काम गरेपछि आफुमाथि निरन्तर आक्रमण भएको महसुस गरेको सुनिताले सुनाइन् ।
उनले भनिन्-
-मैले गरेको काम देशभित्र मात्रै होइन, अन्तराष्ट्रिय रुपमा पनि राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रा निरन्तर गरिररहे, त्यसले पनि विरोधीलाई पोल्यो ।
-कुनै आधारविहीन लेख्नलाई पनि छेकेन जथाभावी बोल्न र कमेन्ट गर्नका लागि छेकेन जथाभावी आक्रमण गरिररहे ।
-ती आक्रमण गर्नेहरु राष्ट्रविरोधी हुन् अहिले पनि सल्बलाइरहेका छन् ।
-प्रधानमन्त्री केपी ओली र आफूमाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्नेछौं ।
-प्रधानमन्त्री ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको छ ।