- २०८२ वैशाख ९ मंगलबार । काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेको छ ।
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने भएको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख ११ गते बिहीबारदेखि परीक्षा तालिका निर्धारण गरिएको थियो ।
विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेपछि परीक्षा प्रभावित बन्न पुगेको थियो ।
यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेको थियो ।
तर अन्तिम समयमा परीक्षाको मिति सरेको हो ।
शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने बोर्डको प्लान थियो ।
तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुर्छ भन्यो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्डलाई कक्षा १२ को परीक्षा सार्न आग्रह गरेका थिए ।
२१ गतेदेखि हुने परीक्षाको पूरा तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ ।