- २०८२ वैशाख ८ सोमबार । काठमाडौं ।
दुर्गा प्रसाई सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईँ फरार भएका थिए ।
फरार भएपछि उनको व्यक्तिगत बैंक खाता र अस्पतालको बैंक खाता रोक्का गरेकोमा सर्वोच्च अदालतले खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।
खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट अपरेशन डाइरकेक्टर डा. अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकी थिइन् ।
रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुबै बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।
कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको छ ।
चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो ।
सरकारी गाडीसहित निजी घरमा आगजनी र तोडफोड भएको थियो ।
यस्तै नेकपा (एकीकृत समाजवादी) को कार्यालय तथा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो ।
४७ करोडको क्षति
दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा करिब ४७ करोडको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
प्रदर्शनकारीले सञ्चार संस्था, भाटभटेनी सुपरस्टोर र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय सहित २२ वटा घर तथा कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
३९ वटा सवारीसाधन प्रदर्शनकारीले तोडफोड गरेका थिए ।
प्रारम्भिक मूल्याङ्कनबाट निजी र सार्वजनिक सम्पत्ति समेत गरेर ४६ करोड ९५ लाख क्षति भएको देखिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
त्यस दिन उच्छृङ्खल गतिविधि गरेको आरोपमा अहिले ७३ जना थुनामा छन् ।
उनीहरू विरुद्ध राज्य विरुद्धको कसुर र आपराधिक उपद्रव विरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
क्षति भएको रकम बराबरको बिगो आरोपीहरूसँग मागदावी गर्ने प्रहरीको तयारी छ ।