- २०८२ वैशाख ८ सोमबार । काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।
उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।
शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
शिक्षक महासंघसँग बारम्बार भइरहेको छलफलमा सहमति हुन नसकेपछि शिक्षामन्त्री भट्टराई समस्यामा परेकी थिइन् ।
ओली नेतृत्वको सरकारमा नेकपा एमालेमा यत्तिको नैतिकता भएको व्यक्ति बाँकी रहेछन् भनेर विद्याको तारिफ पनि हुन थालेको छ ।
प्रधानमन्त्री ओलीबाट शिक्षकको माग सम्बोधन नहुने छाँट देखिएपछि नैतिकताको आधारमा विद्याले मन्त्रीपदबाट राजीनामा दिएको स्रोतले बताएको छ ।
विद्याको राजीनमापछि पत्रकार जिवराम भण्डारीको प्रतिक्रिया छ- ‘यो राजीनामासँगै विद्याले पति (स्वर्गीय) रवीन्द्र अधिकारीले आर्जन गरेको व्यक्तित्वलाई थप टेवा दिएको ठानेँ, भलै पार्टीमा केपी ओलीले टिक्न भने कति देलान् ।’
विद्याको राजीनामासँगै शिक्षक आन्दोलन पेचिलो मोडमा पुगेको छ ।
देखाइन् स्वास्थ्यको कारण
विद्याले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी छिन् ।
विद्या गत माघमा बिरामी परेकी थिइन् ।
उपचारपछि निको भएको थियो ।
तर स्वास्थ्यमात्रै नभइ शिक्षक आन्दोलनका कारण उनीमाथि परेको पछिल्लो दबाब पनि राजीनामाको कारण भएको बताइएको छ ।
शिक्षा मन्त्रालयलाई शिक्षकको आन्दोलन सुल्झाउन कठिन भएको छ ।
महेशको टिप्पणी : उहाँमै कमजोरी थियो
एमाले नेता महेश बस्नेताले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुलाई उनकै कमजोरीको रुपमा टिप्पणी गरेका छन् ।
आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरुप मन्त्रीको राजीनामा आउनु विद्याकै कमजोरी भएको महेशको भनाइ छ ।
मन्त्री भएको बेलादेखि नै भट्टराईको कार्यसम्पादनमा कमजोरी रहेको उनले बताएका छन् ।
महेशले भनेका छन्–
-मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो ।
-अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।