नेपाली बजारमा चिनियाँ सवारीसाधनहरुको वर्चश्व देखिएको छ । पछिल्लो समय चार पाङ्ग्रे विद्युतीय गाडीमा सर्वसाधरणको आकर्षण उच्च बन्दा सवारी साधनहरु नेपाल आउने क्रम बढेको हो ।
भन्सार विभागको फागुनसम्मको तथ्यांकअनुसार ७ हजार ८९ विद्युतीय गाडी नेपालमा भित्रिएका छन् । जसमध्ये चीनबाट ५ हजार २७८ विद्युतीय गाडी भित्रिएका छन् ।
भारतबाट १७ सय ७५ मात्रै भित्रिएका छन् । नेपालमा आयात हुने विद्युतीय गाडीमा चिनियाँ ब्राण्डको हिस्सा ८० प्रतिशत हाराहारी देखिन्छ । खासगरी विक्रेताहरुले बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्राण्डहरूसँगै भारतबाट टाटा, हुण्डाइ, महिन्द्रा, कियालगायतका ब्राण्डलाई नेपालमा ल्याएर विक्री गरिरहेका छन् । विक्रेताहरुकाअनुसार भारतीय ब्राण्डको सूचिमा टाटा मोटर्स पनि सामेल छ । जसले हाल पन्च ईभी र टियागो ईभीमार्फत राम्रो कारोबार गरिरहेको छ ।
त्यसो त, भारत पनि विद्युतीय गाडीहरु उत्पादनमा जोडतोडले लागेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै ‘सवारी साधनको विश्वव्यापी प्रदर्शनी’ को दोस्रो संस्करणको उद्घाटन गर्दै विद्युतीय सवारीसाधनलाई जोड दिएर १०० भन्दा बढी नयाँ सवारी साधन, कम्पोनेन्ट र प्रविधिको प्रस्ताव राखिने बताएका थिए । सवारीसाधन निर्मातासँगै कम्पोनेन्ट, इलेक्ट्रोनिक उपकरण, टायर र ऊर्जा भण्डारण उत्पादकका साथै सवारी साधन सफ्टवेयर कम्पनीका उत्पादनहरूलाई समेत बढाउने उसको नीति छ ।