- २०८२ वैशाख ७ गते आइतबार । काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनअघि नियन्त्रणमा रहेका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् ।
उनीहरुलाई चार घण्टापछि रिहा गरिएको हो ।
उनीहरुले सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो ।
रिहा भएपछि अध्यक्ष राजेन्द्र लिङदेनले भने –
-हाम्रो आन्दोलन जारी छ ।
-हाम्रो आजको आन्दोलन सफल भयो ।
-आज सहयोग गर्नेलाई धन्यवाद ।
-तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन ।
-त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।
-यो सुरुवात मात्र हो ।
सिंहदरबारभित्रै विरोध
संसदीय दलको कार्यालय सिंहदरबारबाट निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए ।
तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग थियो ।
सरकारले सुन्नुपर्छ
राजेन्द्र लिङ्देनले सरकारले नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको आरोप लगाए ।
सिंहरबारस्थित संसदीय दलमा प्रहरी तैनाथ गरेपछि उनले भने –
-जनताबाट सरकार झन् झन् टाढा हुँदै गएको छ ।
-त्यसैले हामीले सरकारको नजिकै गएर प्रदर्शन गरेर आज सुनाउँन खोजेका छौं ।
-सिंहदरबारबाट गरेको प्रदर्शन सरकारले सुन्नैपर्छ ।
-यो प्रदर्शन देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादीहरुले सुन्छ ।
दलको कार्यालय अगाडि सरकारले अस्वभाविक रुपमा प्रहरी तैनाथ गरेको उनको टिप्पणी छ ।
अनि नियन्त्रणमा
प्रदर्शनपछि अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजेन्द्र लिङदेनले यसअघि नै ‘सामूहिक गिरफ्तारी दिने’ भनेका थिए ।
प्रहरीले नियन्त्रणमा लिनेक्रममा लिङ्देनले भने –
-हामीहरु सबै थुनिन तयार छौं ।
-निरंकूश सरकारले गर्ने काम यही हो ।
-यसमा अचम्म मानेका छैनौं ।
-हामी सबै थुनिन तयार छौं ।
प्रहरीले नियन्त्रणमा लिएपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।
राप्रपाले आज बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो ।
पञ्चायतमा समेत वाक स्वतन्त्रता थियो : जनआन्दोलन समिति
राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुलाई पक्राउ गरिएकोप्रति विरोध जनाएको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्द शान्तिपूर्ण प्रदर्शनमा रोक लगाएर अलोकतान्त्रिक कृत्य गरिएको भन्दै विरोथ जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ –
-पञ्चायती प्रजातन्त्रमा समेत जनताका प्रतिनिधिले जनताका तर्फबाट सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतभित्र समेत पूर्ण वाक स्वतन्त्रता सहित व्यवस्थाविरुद्ध माग राख्न पाइन्थ्यो ।
-हाल आस्थामाथि प्रतिबन्ध लगाउँदै व्यवस्थाविरुद्धको प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएकोमा हामी गम्भीर आपत्ति प्रकट गर्दछौं ।
-तत्काल तीनकुने गोलीकाण्डको निष्पक्ष न्यायिक आयोग गठन गर्न र पक्राउ गरिएका जनप्रतिनिधी तथा झूठा मुद्दामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्दै वार्ता र संवादको प्रक्रियामा आउन समेत हामी सरकारसँग पुनः आह्वान गर्दछौं ।
-अन्यथा जनताको विद्रोहबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मा सरकार पक्ष स्वयमले लिनु पर्ने पनि चेतावनी दिन चाहन्छौं ।
राप्रपाको आकस्मिक बैठकपछि यस्तो निष्कर्ष
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको ठहर गरेको छ ।
नेताहरु पक्राउपछि बसेको आकस्मिक बैठकले सरकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको निष्कर्ष निकालेको हो ।
बैठकको निष्कर्ष
-अध्यक्ष र नेताहरु पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ ।
-यसको सर्वत्र विरोध गरिनुपर्छ ।
-शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदैगर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरुको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ ।
-सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ ।
-संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ ।
-त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ ।
-राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्धाका पक्षमा अझ दृढ रुपमा अघि बढ्नेछ ।
-चैत १५ गतेको तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री डा। धवल शमसेर राणा लगायत सबै, नेता, कार्यकर्ताको रिहाइ हुनुपर्छ ।
-आज अध्यक्ष लिङ्देनसहित, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्यलाई पक्राउ गरिएको छ, उहाँहरुलाई तत्काल रिहा गर्नुपर्छ ।