- २०८२ वैशाख ६ गते शनिबार । बुटवल
आज बिहानै रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भयो ।
बुद्धनगरमा होटेल सञ्चालन गर्दै आइरहेकी २९ वर्षीया टिका विष्टमाथि गोली प्रहार भएको हो ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी टिका बुद्धनगरमा होटेल चलाउँथिन् ।
होटेल खोलेर सरसफाइ गर्दै गरेकी उनलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेर भागेको छिमेकीले बताए ।
टिकाको कम्मरमाथि गोली लागेको छ ।
उनी गम्भीर घाइते भएकी छिन् ।
गोली लागेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।
कम्मरमा लागेको गोली निकाल्न नसकिएपछि बुटवलबाट भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरियो ।
त्यहाँ पनि गोली निकाल्न नसकिएपछि चितवन लगिएको छ ।
आलमले हाने गोली!
टिकाले गोली हान्ने केटा भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छिन् ।
केटाको अरु ठेगाना खुलेको छैन ।
घाइतेसँग धेरै कुराकानी गर्न नमिलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छिमेकी भन्छन् –
-गोली हान्ने केटो यसभन्दा पहिले पनि टिकाको होटलमा आइरहन्थ्यो ।
-केटाले टिकालाई मन पराउँथ्योे ।
-तर टिकाले केटोलाई मन पराउँदैनथिइन् ।
-केही दिनअघि दुबैजनाबीच भनाभन (विवाद) भएको थियो ।
-त्यसपछि अवस्था शान्त थियो ।
-केटा पनि आउन छोडेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीका अनुसार –
-टिकालाई मन पराउने त्यही युवकले नै गोली चलाएको सुरुवाती अनुमान छ ।
-घाइते महिलाले भारतीय नागरिक आलम अन्सारीले आफूलाई गोली हानेको बताउनुभएको छ ।
-उ (आलम) पटक-पटक त्यहाँ आउने गरेको र आज पनि भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर त्यहाँ पुगेको भन्ने कुराले त्यो आधारलाई बल पुर्याउँछ ।
-घटनामा भारतीय युवक रहेको प्रारम्भिक अनुमान गरिए पनि विस्तृत खुल्न बाँकी छ, अनुसन्धान हुँदैछ ।
-प्रहरीले सबै सीमा नाकामा सम्भावित आरोपितको खोजी भइरहेको जानकारी दिएको छ।
फैलियो डर
यस घटनाले बुद्धनगर क्षेत्रका बासिन्दामा डर त्रास फैलिएको छ ।
टोलमा डरलाग्दो घटनाले आतंक सिर्जना भएकोमा स्थानीय चिन्तित छन् ।
दोषीलाई तत्काल खोजेर कडा कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।
स्थानीयले घाइते टिकाको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
अपडेट (भर्खरै)