बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनले सफाइ पाएका छन् ।
उच्च अदालत जनकपुरले रामबहादुरलाई सफाइ दिएको हो ।
जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले उनलाई सफाइ दिएको हो ।
भट्ट र भण्डारीको इजलासले २०८० चैत ६ गते रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको छ ।
उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।
जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते रामबहादुरलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
श्रीमती लिन गइन्
उच्च अदालत जनकपुरले सफाइ दिएका बेला उनी सिन्धुपाल्चोक कारागारमा थिए ।
करिब ८ महिनाअघि नै महोत्तरीको जलेश्वर कारागारबाट रामबहादुरलाई सिन्धुपाल्चोकको कारागार पठाइएको थियो ।
चैत ७ गते रामबहादुरकी श्रीमती अदालतको फैसलाको आदेश बोकेर कारागार पुगेपछि त्यही दिन बिहान उनलाई छाडिएको थियो ।
सिन्धुपाल्चोकमा पनि मुद्दा
रामबहादुरविरुद्ध सिन्धुपाल्चोकमा पनि मुद्दा थियो ।
सिन्धुपाल्चोकमा उनीविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता थियो ।
जहाँ बम्जनका भिक्षु फुलमाया रुम्बालाई बेपत्ता पारिएको आरोप थियो ।
यो अभियोगमा उनी सुरुमा ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
पछि फैसलामा कार्तिक २५ गते न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले सफाइ दिएको थियो ।
अर्को पनि आरोप
सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि वेपत्ता पारेको आरोप रामबहादुरमाथि छ ।
तर त्यो मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन ।
अदालतमा मुद्दा हुँदा पनि बम्जन लामो समयसम्म फरार हुँदै आएका थिए ।
२०८० पुष २४ गते बुढानिलकण्ठस्थित घरबाट रामबहादुर बम्जनलाई सीआईबीले पक्राउ गरेको थियो ।