राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपाले वैशाख ७ गते काठमाडौंमा प्रदर्शन गर्दैछ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भने-
-वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्नेछ ।
-सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं ।
-७ गतेको कार्यक्रम सभाभन्दा पनि प्रदर्शनको रूपमा अगाडि बढाउने छौं ।
-पार्टीको विशेष समिति बैठकले थप कार्यक्रमहरू सार्वजनिक गर्नेछ ।
-वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन झन् चर्कनेछ ।
-हामीले त ७ गते नै निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने र राजेन्द्र लिङ्देन नै पक्राउ दिने निर्णय गरिसक्यौं, अरूले के गर्छन् भन्ने थाहा भएन ।
बैठकले के निर्णय गर्यो ?
बैठकले वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायत चैत १५ को प्रदर्शनमा सहभागी बन्दीलाई रिहाई गर्न माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने र कानुनी एवं राजनीतिक लडाइँलाई निरन्तरता दिने पनि बैठकले निर्णय गरेको छ ।
आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडा तहसम्म पुर्याउने निर्णय गरेको छ ।
पक्राउ परेका पार्टीका नेताहरूको रिहाइ र चैत १५ गतेको घटनाको न्यायिक छानबिनको माग गर्दै राप्रपाले प्रदर्शनका कार्यक्रम अघि बढाउने छ ।