बिहीबार बिहानदेखि हेटौँडा उपमहानगरपालिकाको तोक आदेश भएको एउटा पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
हेटौँडा-४ शितलमहल चोकस्थित एक सैलुनलाई एयर कण्डिशनर (एसी) र इन्भर्टर अनुदान दिने मेयरको तोक आदेश सहितको उक्त पत्र भाइरल भएको हो ।
यस्तो छ कथा
हेटौँडा-४ शितलमहल चोकमा सुसन घलानले द नाइन्टिन सैलुन खोले ।
सैलुनको उद्घाटन गर्न हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बोलाए ।
मिना आइन्, सैलुन उद्घाटन गरिन् ।
उद्घाटनपछि कपाल काट्ने, फेसियल गर्ने, नेल आर्ट गर्न थालिन् ।
उनले त्यहाँ फेटो-भिडियोसमेत खिचिन् ।
एकछिनपछि भनिन्- ‘ओहो यहाँ त गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु ।’
मेयरले एसी दिने बाचा गरेपछि सुसन दंग पर्ने नै भए ।
सुसनले अब गर्मी सुरु भएको र आफ्नो सैलुनमा ग्राहकको भिड बढेको भन्दै उपमहानगर समक्ष एसी र इन्भर्टरको लागि निवेदन दिन्छन् ।
वैशाख तीन गते उनले निवेदन दिएका हुन् ।
तोक आदेश
उपमहानगरबाट पनि निवेदकको माग बमोजिम सामानको लागत अनुमान तयार गरिदिनु भन्ने तोक आदेश हुन्छ ।
सुसनले मागे अनुसारको सामग्री दिन मेयर लामाले तत्काल रातो कलमले आर्थिक प्रशासन शाखालाई तोक लगाएर आदेश गर्छिन् ।
मेयर लामाको तोक आदेश सहितको सो निवेदन आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना समक्ष पेस गर्छन् ।
महाशाखा प्रमुख तिमल्सिनाले पनि तोकसहित उपमहानगरपालिकाका मर्मत सम्भार इकाईमा कार्यरत मेकानिक्स (सहायक चौथो) पुरुषोत्तमकुमार अधिकारीलाई आदेश गर्छन् ।
महाशाखा प्रमुख तिमल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनेर वैशाख ३ गते नै आदेश गर्छन् ।
सो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो ।
त्यही पत्र हो अहिले सामाजिक सञ्जालमा एकाएक भाइरल भएको ।
को के भन्छ ?
हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले कार्यलयबाट तोकआदेशमा धेरै काम हुने र भइरहेको बताउँदै यसलाई सामान्य लिनुपर्ने बताउँछन् ।
उपमहानगरबाट सैलुनलाई ‘ल्याब बनाउने’ योजना भएर एसी र इन्भर्टर सहयोग गर्न खोजिएको बारे आफूले जानकारी पाएको उनले बताए ।
उपमहानगरका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले काम गर्छु भनेर स्थानीय सरकारको ढोकामा आएको युवालाई सहयोग गर्न खोजिएको भने ।
हाल लागत योजना तयार पार्न भनिएको र माग भएको सामग्री दिने वा नदिने निर्णय हुन बाँकी रहेको उनले बताए ।
अनि बाहिरियो पत्र
उक्त तोक आदेशसहितको पत्र वैशाख ४ गते बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा सार्वजनिक भयो ।
हेटौँडा उपमहानगरपालिका र मेयर मिनाको व्यापक आलोचना भएको छ ।
उपमहानगरपालिकाको कर्मचारी समक्ष पेस भएको पत्र बाहिर ल्याउने पात्र भने सैलुनका सञ्चालक सुसन नै हुन् ।
उनले सैलुनको टिकटक आइडीबाट उक्त पत्र सार्वजनिक गरेका हुन् ।
व्यवसायी युवाहरूलाई प्रोत्साहन गर्न मेयरको उद्देश्य अनुसार बनाइएका भिडियो र फोटो सहित सैलुन सञ्चालकले तोक आदेश भएको उक्त पत्र समेटेर टिकटक भिडियो बनाउँछन् ।
सोही भिडियोबाट स्क्रिन सर्ट गरेर निकालिएको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
निवेदनमा के लेखिएको छ ?
निवेदनमा ‘सैलुन उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको सैलुनमा गर्मी धेरै छ, म एसी जडानका लागि सहयोग गर्छु भन्ने कुरा सम्झेर यो औपचारिक निवेदन लिएर उपस्थित भएको छु ।
हाल गर्मीयाम अत्यधिक बढेकाले र हाम्रो सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन अत्यावश्यक रूपमा एक थान एसीको आवश्यकता परेको छ ।
साथै हालसालै हेटौँडामा लोडसेडिङ तथा अनियमित विद्युत् आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउँछ ।
ग्राहकको सेवा गुणस्तरीय बनाउन इन्भर्टरको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण भएको छ ।
अतः हाम्रो सैलुनमा एसी तथा इन्भर्टर जडानको लागि तपाईंको सहयोग र समर्थनको अपेक्षा गर्दै यो निवेदन पेस गरेका छौँ ।
तपाईंको सहयोगले हामीलाई हाम्रो युवा प्रयासलाई अझ सफल र प्रेरणादायी बनाउनेछ ।