नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन्।
बारा-३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै गगनले भने-
-जुन उद्देश्यले सरकार गठन भएको थियो त्यो अनुसार सरकारले काम गर्न सकेको छैन ।
-अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपर्थ्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो ।
-कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी पार्टीबीचको सरकार ठूलो उद्देश्यले बनेको छ, तर त्यो उद्देश्य पूरा गरिनुपर्छ।
-यो पटक संविधान संशोधन र सुशासनको एजेण्डामा मिलेका हौं ।
-तर यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौं त्यो पूरा हुन सकेको छैन ।
-त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ ।
-जुन गतिमा हिँड्नुपर्ने त्यो हुन सकिरहेको छैन ।
-सरकारले गर्नुपर्ने निर्णय नगरेर नगर्नुपर्ने निर्णय गरिरहेको छ ।
-यद्यपि, कांग्रेस एमालेसँगको सहमतिमा प्रतिबद्ध छ ।
-२०८४ सम्म सरकार अदलबदलमा लागिने छैन ।
-कांग्रेस आफ्नो कुरामा इमान्दार छ ।
-अहिलेसम्म सरकार परिवर्तन कांग्रेसको कारणले गर्दा भएको छैन ।
हिजो पनि एक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीको कार्यशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच पुगेको टिप्पणी गरेका थिए ।
विश्वप्रकाशको टिप्पणी
यसैबीच नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको काम समर्थनयोग्य नभएको टिप्पणी गरेका छन् ।
शर्माले सरकारको ७ कमजोरी औल्याएका छन् ।
शर्माले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धि विधेयक, त्रिविको उपकुलपति प्रकरण, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआइजी नियुक्तको विषयमा उठाएका छन् ।
शर्माले भनेका छन्-
-नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन ।
-मुख्य दुई दल सम्मिलित सरकारको गति सम्तोषजनक भएन ।
-कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ ।
-सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।