काठमाडौं महानगरपालिकाले हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेपछि नयाँ बानेश्वरको एभरेष्ट अस्पताललाई ५० हजार रूपैयाँ जरिवाना तोकेको छ ।
अस्पतालबाट उत्पादित फोहोरको व्यवस्थापन नगरिएको पाइएकाले जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले बताइन् ।
सरिताले भनिन् –
-रसायनिक फोहोरमैला, औद्योगिक फोहोर, स्वास्थ्य संस्थाजन्य फोहोर, जोखिमपूर्ण फोहोर वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार देखि १ लाखसम्म जरिवाना गराउन सक्ने व्यवस्थाअनुरूप पत्र काटिएको हो ।
-यही कसुर दोहोर्याए पहिलो पटक गरिएको जरिवानाको दोब्बर अनुमति रद्द गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।
-महानगरले एभरेष्ट अस्पतालको फोहोर व्यवस्थापन भए/नभएको बारे ३ पटक अनुगमन गरिसकेको छ ।
-यसअघि सुझाव र सुधारको मौका दिइए पनि अस्पतालले लापरवाही गरेको पाइयो ।
वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्छिन् –
-२०८१ असोज ३ गते भएको अनुगमनका क्रममा सुधार नदेखिएपछि असोज १४ गते अस्पतालका अधिकारीलाई वातावरण व्यवस्थापन विभागमा बोलाएर मापदण्डका विषयमा जानकारी दिँदै अस्पतालले पूरा गर्नुपर्ने दायित्वका विषयमा सम्झाइएको थियो ।
-त्यसअघि ९ बुँदे सुधारका सुझाव दिएर पत्र पठाइएको थियो ।
-पत्रबाट गर्नु भनेका कामहरु अहिले पनि पूर्ण रुपमा भएका छैनन् ।
-फोहोर वर्गीकरण गर्ने र वर्गीकरण गरिएको फोहोर जम्मा गर्ने कोठा बनाइएको छैन ।
-सबै फोहोर एउटै हलमा थुप्रो थुप्रो बनाएर राखिएको छ ।