सिरहामा यौन दुर्व्यवहारमा परेकी दलित समुदायकी एक महिला मंगलबार आफ्नै घरमा मृत फेला परेकी छन् ।
सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माइतघरमै पासोमा झुण्डेको अवस्थामा मृत फेला परेकी हुन् ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।
आनन्दीमाथि यौन दुर्व्यवहार
आनन्दी यौन दुर्व्यवहार घटना पीडित थिइन् ।
आमा बिल्टौन देवी सदाय भन्छिन् –
-पुस ९ गते बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न गएको बेला गाउँकै दुई युवकले आनन्दीलाई यौन दुर्व्यवहार गरेका थिए ।
-स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालर यौन सम्पर्कको प्रस्ताव राखेका थिए ।
-तर, आनन्दीले अस्वीकार गरेपछि दुई युवकले जबर्जस्ती आनन्दीको दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेर कपडा च्यातेर जबरजस्ती करणीको प्रयास गरे ।
-त्यसपछि आनन्दी भागेर गुहार मागेकी थिइन् ।
-न्यायको लागि इलाका प्रहरी तारमा उजुरी दिन गएकी थिइन् ।
-तर, प्रहरीले अनुसन्धानको नाममा दुई महिनासम्म आलटाल गरे ।
-आरोपीहरु खुलेआम घुमिरहे ।
-स्थानीय नरेन्द्र यादवलगायतका केही व्यक्तिले गाउँमै मिल्नुपर्ने भनेर धम्कीसमेत दिए ।
-छोरीमाथि जबरजस्ती करणीको प्रयास भयो ।
-प्रहरीले समयमा जाहेरी लिएन, वास्ता नै गरेन ।
-आरोपीका मान्छेहरु पछि गाउँमै पञ्चायत गरेर मिलाउन दबाब दिन थाले ।
-नभए उल्टै मुद्दा दर्ता गर्ने धम्कीसमेत दियो ।
-पछि मात्रै प्रहरीले जाहेरी दर्ता गर्यो ।
-तर दोषीलाई पक्राउ गरेन ।
प्रहरीको तर्क
इलाका प्रहरी कार्यालय पतारका प्रहरी निरीक्षक रविनराज मैनाली भन्छन् –
-फागुन २५ गते घटनामा संलग्न दुई युवकमाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको थियो ।
-अनुसन्धानबाट आनन्दीमाथि यौन दुर्व्यवहार भएको जस्तो देखिएको छ ।
-यौन दुर्व्यवहारको घटनामा फसाउने उद्देश्यले पनि कतिपयले जाहेरी दिन्छन् ।
-त्यस कारण सुरुमा अनुसन्धानमा समय लाग्यो ।
-घटनाको अनुसन्धानमा आनन्दीमाथि यौन दुर्व्यवहार भएको पाइएको छ ।
-अहिले दुवै युवक फरार छन् ।
-पटकपटक खोज्न जाँदा घरमा भेटिएका छैनन् ।
-खोजि गरिरहेका छौं ।
श्रीमान विदेशमा
आनन्दीका श्रीमान् वैदेशिक रोजगारीमा भएकाले दुई वर्षीया छोरीसहित माइतमै बस्दै आएकी थिइन् ।
त्यस घटनापछि पतिले समेत राम्ररी फोनमा बोल्ने गरेका थिएनन् ।
प्रहरीबाट पनि उनले न्यायको आश मार्न थालिन् ।
तनाबमा उनले आत्महत्याको बाटो रोजिन् ।
गृहमन्त्रीको निर्देशन
यो घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापालाई फोन गरेर निर्देशन दिएका छन् ।
सिरहाकै नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायमाथि पनि माघ अन्तिमसाता सामूहिक बलात्कार भएको थियो ।
उक्त घटना गाउँमै मिलाउने प्रयास गर्दा रिंकु घरमै झुण्डेको अवस्थामा मृत फेला परेकी थिइन् ।
घटना मिडियाले बाहिर ल्याएपछि आरोपी र पञ्चायत गर्नेहरु पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो ।