spot_img

जावलाखेलमा दाजुले गरे ११ वर्षकी बहिनीको हत्या, पानीट्याङ्कीमा शव

ललितपुरको मंगलबजार नजिक खपिनछेँ टोलस्थित एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिका मृत भेटिएकी थिइन् ।

गत चैत २९ गते पानीट्यांकीमा बालिकाको शव भेटिएको थियो । उनको हत्या भने चैत ४ गते भएको थियो ।

हत्या आरोपमा प्रहरीले उनकै सहोदर दाजुलाई पक्राउ गरेको छ ।

उनी १५ वर्षका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एसपी अंगुर जिसीका अनुसार –

-हत्या उनका दाइबाटै भएको कुरा अनुसन्धानबाट खुलेको हो ।

-ललितपुर महानगरपालिका १२, मंगलबजार बस्ने भगबती बोहराले ११ वर्षीय छोरी दुर्गा बोहरा चैत ४ गते राति साढे ९ बजे बाट हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।

-खोजतलास गर्ने क्रममा चैत २९ गते ललितपुर महानगरपालिका ९, खपिन्हेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा बालिकाको शव फेला परेको थियो ।

-काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा पीआरबीसी ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा विभिन्न विधि र प्रबिधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा १५ वर्षीय कान्छो दाईले बहिनीको हत्या गरेको खुल्न आएको छ ।

-उनको दाईलाई प्रहरीले मंगलबजार एरियाबाट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

अघिल्लो रात हत्या, भोलिपल्ट शव व्यवस्थापन

चैत ६ गते बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नं. ४ घर भई हाल ललितपुर १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी ११ वर्षकी दुर्गा बोहरा चैत ४ गतेदेखि हराएकी थिइन् ।

ललितपुरको खपिनछेँस्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुई तल्लामा प्रयोग बिहीन रहेको सिमेन्टले बनाएको पानी ट्या‌ङ्कीमा दुर्गा बोहराको शव फेला परेको थियो ।

बाबुराजा अवालेको उक्त घरमा बोहराको परिवार भाडामा बसेका थिए । उनीहरु फागुन २५ गते त्यो घर छोडेर अन्यत्र डेरा सरेका थिए । उनीहरुले छोडेर गएपछि कोठा खाली भएको थियो ।

मकवानपुरका सञ्जय बोगटी डेरा सरेर खपिन्छें टोलको बाबुराजा अवालेको घरमा पुगेका थिए ।

१६ चैतमा डेरा सरेका बोगटीले पानीट्यांकीबाट बाहिर किरा आउन थालेपछि ट्यांकी सफा गर्न खोज्दा (२९ चैतमा) बालिकाको शव भेटिएको थियो ।

यही घरमा बस्ने चमेली सुनारको परिवार पनि चैत २ गते डेरा सरेर अन्यत्र गएको थियो ।

कोही नबसेको उक्त घरमा बहिनीको हत्या गरेर दाजुले शव पानीट्यांकीमा लुकाएका हुन् ।

सीसीटीभीमा जे देखियो

चैत ४ गते बालिका र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

सुरुवाती सोधपुछको क्रममा दाजुले छुटेका कपडाहरू लिन गएको बताएका थिए ।

तर अनुसन्धान गर्दै जाँदा उनैले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

उक्त घरमा पुगेपछि सामान्य विवाद हुँदा बहिनीलाई पिटेर लडाएको र नाइनलको डोरीले पछाडीबाट बाँधेर घाँटीमा कसी हत्या गरेको उनले बताएका छन् ।

हत्यापछि त्यस दिन फरार रहेका उनी भोलिपल्ट मात्रै उक्त घरमा गएर शव व्यवस्थापन गरेका थिए ।

घटनाको दिन दाजु बहिनी दुबैले लागुऔषध सेवन गरेका रहेछन् ।

नसाको सुरमा विवाद भएपछि हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार- भोलिपल्ट नसाले छुटेपछि गएर शव व्यवस्थापन गरेको देखिन्छ ।

भुईंतलाको भर्‍याङ छेउमा रहेको उक्त शव भोलिपल्ट दाजुले पानीट्यांकीमा हालेर ढक्कन लगाएर बाहिरिएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular