आना शर्मा पछिल्लो समयकी ब्यस्त अभिनेत्री हुन् ।
रोमान्टिक फिल्म ‘जेरी’मा अनमोल केसीसँग उनको स्क्रिन सेयरलाई धेरै रुचाइएको थियो ।
पहिलो फिल्म नै बक्सअफिसमा हिट भएपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।
त्यसपछि उनले ‘ग्याङस्टर ब्लुज’ र ‘द म्यान फ्रम काठमाण्डू’मा अभिनय गरिन् ।
उनको पछिल्लो फिल्महरू ‘एक्टर : टेक वान’, ‘मायाको माया’ रिलिज हुँदैछन् ।
‘रमिताको पिरती’ र अर्को एक अनटाइटल फिल्म उनको लाइनअपमा छन् ।
‘फेसन कन्सस’ आनाकी आमा रचना गुरुङ शर्मा लामो समयदेखि मिस नेपालको कोरियोग्राफरको रुपमा छिन् ।
कान्छी छोरीको रुपमा हुर्किएकी उनले सानैदेखि आफूलाई फेसन, संगीत र फिल्ममा अभ्यस्त राख्न पाइन् ।
हुनसक्छ, यही स्वभावको कारण आना अहिले र्याम्प फेसन र म्युजिक भिडियो मोडलिङदेखि फिल्ममा ब्यस्त छिन् ।
सुशान्त केसीको पछिल्लो ब्लकबस्टर गीत ‘बार्दली’मा अभिनय गरेकी आना निकट भविष्यमै सुशान्तसँग एक फिल्ममा सहकार्य गर्ने तयारीमा छिन् ।
सम्भवतः यसले चाँडै मूर्तरुप पाउनेछ । आफूलाई फिल्म अभिनेत्रीको रुपमा चिनाउन चाहने आनाले ‘बार्दली’बाट अन्तर्राष्ट्रियरुपमै प्रशंसा बटुलिन् ।
खास नाम अन्नपूर्ण भएपनि धेरैले उनलाई आना भनेर चिन्छन् । स्क्रिन नेम पनि आना भैहाल्यो ।
सौगात मल्लसँग स्क्रिन रोमान्स गर्न चाहने आना चाँडै ग्ल्यामर प्रशाधनसँग सम्बन्धित व्यवसायमा पनि लाग्दैछिन् ।