पेप्सीकोलाको टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ ।
बुधबार राति ९ बजेतिर लुटपाट भएको हो ।
बौद्ध बस्ने रितेश लामाको पैसा लुटिएको हो ।
जग्गाको बैना गर्न पैसा लिएर आउनु भनेपछि रितेश पैसा लिएर गएका थिए ।
रितेशले दुई वटा झोलामा ६० लाख राखेर कारमा गइरहेका थिए ।
टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग उनले कुराकानी गरिरहेका थिए ।
त्यही बेला ८–९ जनाको समूह आयो ।
उनीहरुले गाडीमा रहेको दुई वटा झोलाको पैसा लुटेर लगे ।
पैसा लुटिएपछि केही परसम्म रितेशले कारमार्फत पिछा गर्छन् ।
लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर टाप कस्छन् ।
पैसा लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे बताएका थिए ।
त्यसपछि प्रहरीले अनुसन्धान अघि बढायो ।
सीसीटिभी फुटेजमा लुटेरा समूहले पैसा लुटेर लगेको देखिएको थियो ।
२० जना नियन्त्रणमा
लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
घटनाको अनुसन्धान भइरहेको भन्दै प्रहरीले अन्य कुरा सार्वजनिक गरेको छैन ।
पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ ।
एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ ।
बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् ।
७६ लाख भेटियाे
लुटिएको बताउने रितेशले सुरुमा ६० लाख लुटिएको भनेका थिए ।
पछि हिसाब गर्दा ७६ लाख रहेको प्रहरीले बताएको छ ।
उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे ? रकमको स्रोत के हो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्नेछ ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।